खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको निर्देशनमा महानदी ग्राम पञ्चायत अन्तर्गत पर्ने सातवटा बुथहरुलाई लिएर महानदीमा शहीद दिवस समारोह सम्पन्न भएको छ। उक्त शहीद दिवस समारोहलाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय समितिको कानुनी सल्लाहकार शेखरचन्द्र प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। समारोहलाई पञ्चायत सदस्य राजीव तामाङले सञ्चालन गरेका थिए। कार्यक्रममा गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका महानदीका सर्जुन प्रधानको शहीद वेदीमा श्रध्दाञ्जली अर्पण गरिएको छ। यस अवसरमा भूतपूर्व सैनिकहरुद्वारा सलामी दिनको साथै परेड पनि प्रस्तुत गरेका थिए। कार्यक्रममा स्वागत सम्भाषण हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले राखेका थिए। कार्यक्रममा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा, कार्यक्रमको अध्यक्ष साथै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय कानुनी सल्लाहकार शेखरचन्द्र प्रधान आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा महानदी क्षेत्रमा गोर्खाल्याण्डको लागि शहीद बनेका सर्जुन प्रधानको परिवारलाई सम्मान पनि जनाइएको छ।

कार्यक्रममा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टिको प्रवक्ता बिपन विश्वकर्म, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, महानदी ग्राम पञ्चायतको पञ्चायत समिति सदस्य कुसाङ लामा र सरिता मुखिया, पञ्चायत सदस्यहरु, भूतपूर्व सैनिक संगठनको प्रतिनिधिहरु, वरिष्ठ नागरिक कल्याण संगठनको प्रतिनिधिहरु र स्थानीय समाज र पार्टी प्रतिनिधिहरु उपस्थित रहेका थिए। महानदीमा आयोजित शहीद दिवस समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन्।