गान्तोक: फसलमा कीरा, रोग अनि निमाटोडको गैर रासायनिक प्रबन्धनबारे प्रोत्साहित गर्न आइपीएम तकनिकीको कार्यान्वयन जैविक खेतीको दिशामा प्रमुख विकल्प रहेको छ। केन्द्रिय आइपीएम केन्द्र, गान्तोकद्वारा पाकिम जिल्लाअन्तर्गत पारखा बीएसीमा एकिकृत कीरा प्रबन्धनमाथि पचासभन्दा धेरै प्रगतिशील कृषक अनि राज्य सरकारका अधिकारीहरूलाई दुईदिने मानव संसाधन विकास कार्यक्रम आयोजित गरियो। कार्यक्रम सिक्किमका मध्यम कृषकहरूका लागि फसल-बालीमा एकिकृत कीरा प्रबन्धनका चलनहरूबारे जागरूकता फैलाउन केन्द्रित रहेको थियो। सीआइपीएमसी, गान्तोक कार्यालयका उपनिर्देशक डा. एके चक्रवर्तीले सबै प्रतिभागीलाई कीराको सङ्ख्यालाई सक्दो कम गर्न उपयुक्त कीरा प्रबन्धन तकनिकी एवं विधिबारे अवगत गराए। यसका साथै पर्यामैत्री अनि कृषकहरूका लागि अनुकूल ठहरिने सांस्कृतिक, यान्त्रिक, व्यावहारिक, जैविक अनि गैर जैविक कीरा प्रबन्धन रणनीतिको महत्त्वबारे उनले जानकारी दिए। यसका साथै बद्लिँदो वातावरण अनि खेतबारीमा लाग्ने कीराको स्थिति अनुसार परिवर्तन भइरहने हुँदा नयाँ रणनीतिका साथमा आवश्यकताका आधारमा प्रयोग गर्नुपर्ने बताए। राज्यमा एआइ आधारित राष्ट्रिय कीरा निगरानी प्रणाली कीराको निगरानी गर्न आवश्यक रहेको बताए। यसै क्रममा पारखाका एडीओ टाशी भोटियाले हालका वर्षमा एप आधारित प्रणालीमा व्यापक परिवर्तन आएको उल्लेख गर्दै यसका फाइदाहरूबारे जानकारी दिए। एपीपीओ आर लेप्चाले हाल फसल-बालीमा लाग्ने कीराहरूबारे चर्चा गर्दै राम्रो उब्जनीका लागि आइपीएम प्रचलन अप्नाउन सुझाउ दिए। सहायक वनस्पति सुरक्षा अधिकारी पी तामाङले व्यापक रूपमा लाग्ने कीराको निगरानी एवं प्रबन्धनका लागि फेरोमोनको प्रयोग गर्नेबारे व्यावहारिक जानकारी दिइन्। कार्यक्रममा माटोबाट लाग्ने ढुसी रोगबाट फसल-बालीलाई सुरक्षा प्रदान गर्न बिउलाई जैविक कीटनाशकद्वारा उपचार गर्नुपर्ने महत्त्वबारे बताउँदै केन्द्रिय कृषि, सहकारिता तथा कृषक कल्याण मन्त्रालयको वनस्पति सुरक्षा प्रभागद्वारा शुरु गरिएको “राष्ट्रव्यापी बिउबिजन उपचार अभियान”बारे प्रदर्शनी एवं जानकारी पनि प्रदान गरियो। यसै क्रममा स्थानीय गाउँले अनि राज्यका अधिकारीहरूलाई घातक कीराहरूको प्रबन्धनका लागि स्वदेशी साथै गैर रासायनिक रणनीति अप्नाउन प्रोत्साहित गर्दै कृषक समुदायबीच आइपीएमको अवधारणा प्रसारित गर्नुपर्ने आवश्यकतामाथि बल दिइयो।








