स्रष्टा सङ्गमको पाँचौं वार्षिक सम्मेलन कालेबुङमा‌ शुरु

IMG-20250220-WA0302

कालेबुङ: भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुको साझा मञ्च स्रष्टा सङ्गमको पाँचौं वार्षिक सम्मेलन कालेबुङमा आजदेखि शुरु भएको छ।‌ स्रष्टा सङ्गमको सभापति एल्डर राजु राईको अध्यक्षतामा सम्पन्न भएको उक्त पहिलो दिनको कार्यक्रममा शुरुको प्रार्थना पास्टर टीएस मोलमुको तर्फबाट गरिएको थियो। कार्यक्रममा स्वागत सम्भाषण फानुस लेप्चाले गरेका थिए। कार्यक्रमको शुरुवात भएको घोषण सभापति एल्डर राजु राईले गरेका छन्। कार्यक्रममा नेपाली भाषा कसरी ठिक लेख्ने विषयमा कार्यशाला आयोजना गरिएको थियो। उक्त कार्यशालामा‌ शोध वक्ताको रुपमा हिरा छेत्री उपस्थित रहेका थिए।

यस कार्यक्रमलाई प्राध्यापक मेहेरमान सुब्बाले सञ्चालन गरेका थिए। उनले भाषा शुद्ध कसरी लेख्ने विषयमा कार्यशाला गराएका थिए। यस अवसरमा शोध वक्ता हिरा छेत्रीलाई स्रष्टा सङ्गमको तर्फबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान गरिएको छ।‌ स्रष्टा सङ्गमको पाँचौं वार्षिक सम्मेलनको पहिलो दिनको दोस्रो सत्रमा स्रष्टाहरुबाट रचना पठनको कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रमलाई सभापति एल्डर राजु राईले अध्यक्षता गरेका थिए। यस क्रममा स्रष्टाहरु सुनिता लामा, डा. अञ्जना राई, फानुस सादा, दिपक सोलोमन राई, कवि रवि रोदन, विशप डा. हेमन्त काँफ्ले, पास्टर शरण शरद, पास्टर ध्रुव जोनाह राई, एल्डर बिमल प्रधान, समीर छेत्री, सन्ध्या आचार्य, पास्टर रुबेन राई आदिले र रचनाहरु वाच गरेका थिए। कार्यक्रममा वाचन गरिएका रचनाहरुमाथि प्राध्यापक मेहेरमान सुब्बाले समीक्षात्मक टिप्पणी राखेका थिए। यस कार्यक्रमलाई संयोजक हनोक थापाले सञ्चालन गरेका थिए भने अन्तिम प्रार्थना एल्डर राजु राईले गरेका थिए।‌ उल्लेखनीय छ भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुको साझा मञ्च स्रष्टा सङ्गमको स्थापना सन् २०१८ मा खरसाङ महकुमा अन्तर्गत सिटोङको कार्यक्रमबाट भएको थियो। स्रष्टा सङ्गमको दोस्रो वार्षिक सम्मेलन सिक्किमको रम्फुमा भएको थियो भने तेस्रो वार्षिक सम्मेलन सिलगढीमा‌ र चौथो वार्षिक सम्मेलन सिक्किमको गान्तोकमा सम्पन्न भएको थियो।

यसपाली पाँचौं वार्षिक सम्मेलन दुई दिवसीय रुपमा कालेबुङको वर्शिप सेन्टरमा बिहीबारदेखि शुरु भएको छ।‌ उक्त दुई दिवसीय कार्यक्रमको दोस्रो दिन शुक्रबार स्रष्टा सम्मान र अभ्यर्थना कार्यक्रम पनि आयोजना गरिने भएको छ।‌

About Author

Advertisement