[गणेश चतुर्थी विशेष] गणेश 

Ganesh-1

दिवाकर प्रधान-

चाकड़ी-चाप्लुसी, स्तुतिगान र सन्निकटताबाट आफ्नो स्वार्थ पूरा गर्ने प्रवृत्तिलाई गणेशवाद, गणेश-संस्कृति र गणेशप्रवृत्ति भनिएको पाइन्छ। यो अवसरवादी चिन्तनको प्राचीन रूप हो। गणेशको चिनारी आर्य र खस-किरातमा आ-आफ्नै ढङ्गका छन्। प्राचीन खस-किरात प्रकृति पूजक नै थिए। आर्यपूर्वको जनजातीय भारतीय समाज प्रकृति पूजासित नै सम्बन्धित थियो। हरप्पाको धार्मिक परम्परामा हात्ती, गैँडा, बाघ र  गोरु पुजेका दृष्टान्त पाइएका छन्। सिन्दु सभ्यतामा नागपूजा र गोरुपूजा प्रचलित थियो। सिन्धु सभ्यतामा गोरुकै धेर महत्त्व थियो। आर्यको आगमनदेखि मात्र भारतीयले घोड़ा देखे। भारत स्वयम्‌मा सम्पन्न हुनाले गाँस-वास कपासको कोजीमा टाडा जानु परेन। यस कारण घोड़ा चाहिएन। आक्रमणकारीहरूले चाहिँ घोड़ा उपयोगमा ल्याउनैपर्ने वाध्यता थियो। सिन्धु उपत्यकामा अहिलेको शिवजस्तै पशुप्रेमी पशुपतिसित वरिपरि थुप्रै पशु भए पनि गोरु सर्वप्रिय थियो भन्ने दृष्टान्त धेरैले अग्रसारित गरेका छन्।

ईसापूर्व पहिलो शताब्दीदेखि ईसाको दोस्रो शताब्दीभित्र कुनै बेला प्रकाशमा आएको देवता गणेश चौथो शताब्दीको गुप्तकालदेखि पूर्ण रूपले स्थापित भएको मानिन्छ

भारतमा पशु-पक्षीलाई विभिन्न विधिले पुजिआएको पाइन्छ। अवतारका रूपमा-मत्स्य, कुर्म, वाराह; देवदेवीका वाहनका रूपमा-हाँस, नन्दी, सिंह, बाध, मुसा, गरुड़, लाटकोसेरो आदि; पशुपर्व पनि हुन्छन् – नाग पञ्चमी, काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार; देवताकै रूपमा हनुमान भनेर बाँदर, गणेश भनेर हात्ती पुजिन्छन्। ग्रीस र प्राचीन रोममा थुप्रै पशु-पक्षी देवता देवी छन्। रोमन साम्राज्य ई.३१२-मा इसाई घोषित भएपछि एकदेववादी बन्यो अनि प्राचीन देव देवता लुप्तप्रायः भए। ग्रीसकी विद्यादेवी एथेनालाई लाटकोसेरो मन पर्दथ्यो। ईशुलाई मन पर्ने पशु भेड़ा, कृष्णलाई मनपर्ने गाई, इस्लामी कथाहरूमा उँट रहन्छन्। ग्रीककी देवी आतेमिसलाई भालु मनपर्छ। उतातिर कतिपय धार्मिक सम्प्रदायहरू पशुहरूकै नाममा छन्। घोड़ा, भेड़ा, राँगा, गोरु पूज्ने हामीमात्र होइनौं।

मिस्र (इजिप्ट)-की देवी बास्टेटको टाउको बिरालोको छ, थोठ देवताको टाउको बाजको छ, सोबेक देवताको टाउको लोखर्केको छ, हाम्रो यमराजजस्तै मिस्रका कालदेव एनुबिसको टाउको स्यालको छ, हाम्रो महेशजस्तै मिस्रका प्रलयदेव अतुमको टाउको साँपको छ, उताको सूर्योदय-देव खेप्रीको टाउको भँवराको छ, एपिस देवताको टाउको गोरुको छ। विश्वको सबै धर्मको मूलमा प्रकृति पूजा नै छ। यसलाई जणात्मवाद वा जीववाद अर्थात् अङ्गेजीमा एनिमिजम भनिन्छ। जणात्ववादीहरूले पशु, पक्षी, उद्भित्, पहाड, खोला नाला, जलवायु आदि पुज्दछन्। यस्तालाई गणचिह्नवाद वा टोटमप्रथा (totemism) पनि भनिन्छ। टोटम शब्द ओजिब्वे नामक मूल अमेरिकी आदिवासीको भाषाको ओतोतेमनबाट लिइएको हो। यसको अर्थ परिजन वा आफन्त हो। प्रकृतिलाई आफन्त मान्नेहरूको धर्म यसरी स्थापित भयो। भारतमा पनि धेरै समुदायमा टोटम पाइएको छ। महाराष्ट्रमा ताम्बेको पारिवारिक नाम राख्नेहरूले नागलाई कुल देवता मान्दछन् र नाग र साँप मार्दैनन्। पशु-पक्षीहरूका चिह्नलाई पूजा गर्ने जातिहरू पनि भारतमा छन्। ब्राह्मण ग्रन्थहरू लेखिन थालेपछि आर्य देवताहरू जनप्रिय हुन थाले। प्रकृतिलाई मानवीकरण गरेर मान्छेको रूप दिन थाले – सूर्यदेव, जलदेवता, गङ्गामाता आदि। मिथकहरूले कतिपय पशु-पक्षीलाई पनि देव तुल्य बनाइदिए। यीमध्ये गणेश एउटा देवता बने। ईसापूर्व पहिलो शताब्दीदेखि ईसाको दोस्रो शताब्दीभित्र कुनै बेला प्रकाशमा आएको देवता गणेश चौथो शताब्दीको गुप्तकालदेखि पूर्ण रूपले स्थापित भएको मानिन्छ। त्यसैबेलादेखि महायान बौद्ध र जैनहरूले पनि गणेशलाई इष्टदेव मान्न थाले।

हिन्दू मिथकअनुसार गणेश शिवजी र पार्वतीका छोरो हुन्। उनको वाहन डिङ्क नामक मुसो हो। गणका स्वामी हुनाले उनको एउटा नाम गणपति पनि छ। ज्योतिषमा यिनलाई केतुका देवता मानिन्छ। हात्तीको टाउको हुनाले यिनलाई गजानन पनि भनिन्छ। बाबु-आमालाई संसार मान्ने गणेशले बाबु-आमाकै वरिपरि घुमेर संसार घुम्ने प्रतियोगितामा पहिलो भएर शुभ कार्यमा गणेशको नाम लिनुपर्ने वरदान पाएका थिए। शास्त्रअनुसार यिनी प्रथमपूज्य हुन्। गणेशको उपसना गर्ने सम्प्रदायलाई गाणपत्य भनिन्छ। शास्त्रअनुसार गणेशजीका दुईजना पत्नी छन् – ऋद्धि र सिद्धि। ऋद्धि भनेको भाग्य, सफलता र सम्पन्नता हो, सिद्धि भनेको पूर्णता, कौशल, क्षमता र ऋणमुक्ति हो। यिनीहरूका दुईजना छोरा छन् – शुभ र लाभ।

आरोप लाग्ने नै हो भने ठूलो आरोप नलागोस् तर सानै आरोप लागेर टरोस् भनेर कसैले अर्काको घरको छानोमा ढुङ्गा हान्ने, अर्काको बारीको काँक्रा चोर्ने वा सानोतिनो चकचक गरिटोपल्ने काम गर्ने गर्दछन्

ऋद्धिलाई लक्ष्मीको अवतार मानिन्छ। लक्ष्मी आठवटा छन् – १) आदिलक्ष्मी, २) धनलक्ष्मी, ३) धान्यलक्ष्मी, ४) गजलक्ष्मी, ५) सन्तानलक्ष्मी, ६) वीरलक्ष्मी, ७) विजयलक्ष्मी, ८) विद्यालक्ष्मी।

शास्त्रमा मान्य आठ सिद्धि छन् – १) अणिमा- साधक लागिपरेर कठिन काम आँट्न सक्नु। २) महिमा- योगी योग्यता प्राप्त गर्नु। ३) गरिमा- साधक आफू गह्रुँगो बन्न सक्नु। ४) लघिमा- सक्दो हलुको बन्न सक्नु। ५) इच्छित पदार्थ प्राप्ति गर्नसक्नु। ६) प्राकाम्य- आफ्नो इच्छाले पृथ्वीमा टिक्नु र, आकाशमा पनि उड़्नसक्नु। ७) ईशित्व- अनुशासित भएर सबैमा शासन गर्ने सामर्थ्य राख्नु। ८) वशित्व- अरूलाई राख्नु।

गणेश आर्यका देवता होइनन्, उनी अनार्य देवता किरातार्जुन शिवका छोरा हुन् र मातृप्रधान अवस्थामा औपचारिक बाबुको सन्तान नभए पनि आमाले ‘‘तिम्रै छोरा त हो!’’ भनेपछि मान्नुपर्ने चलनअनुरूप शिवले स्वीकारेका थिए। गणेश कति पुराने द्यौता हुन् भन्नेबारे पुरातत्त्व र नृशंसशास्त्रले ईसापूर्व २ हजार वर्षअघि पश्चिम एशियामा अस्तित्वमा रहेको मानेको कनेश नगर गणेशकै नामको हो। कनेशको नाम अहिले कुल्टेप भएको छ। पुरानो कनेश पुरानो एसियाको क्षुद्रेसिया (अहिलेको टर्की)-मा छ। प्राचीन एन्टोलिया, ओसिरिया र मेसोपोटामियाबिच व्यापार हुनेको केन्द्रमा कनेश थियो। मध्य एसियाको पुरानो एनाटोलियाका आदिवासी थिए हत्ती। गणेशलाई केनाली मूलका हात्तीसुँड़े द्यौता मानिन्छ। आदिवासी हत्तीले त भारोपीय परिवारको भाषा पनि बोल्दैनथे। उनीहरूको भाषा सर्कसियन भाषा समूहमा पर्दथ्यो।

प्रो. बालकृष्ण पोखरेल भन्दछन्: ‘‘हात्तीटाउके देउताको सन्दर्भमा – हात्तीटाउके देउता गणेशको नामको गण-तत्त्व केनानी मूलको एक विकल्प (गन) हो भन्ने तर्क यहाँ दोहोर्यातउनु परोइन। यो देउता हरेक दृष्टिले क्षुद्रेसियाली हस्ती मूलको हो र केवल यसको नाम मात्र केनानी मूलको हो भन्ने तर्क पनि यहाँ विस्तारका साथ पेस्नु नपर्ला। पश्चिमी एसियाको कनेश (Kanesh) भन्ने स्थल यदि गणेशकै पर्याय हो भने यस देउताको नामको अर्को (कन) विकल्प पनि फेला परेको ठहरिन्छ। … केनानी मूलको देवता गणेशले आफूलाई नाम प्रदान गर्ने केनिमूलीय व्यापारी (पणि, फणीश, बनिया, प्युनिक अथवा फोनेसियन)-हरूप्रति अझै स्नेह दर्साएको प्रस्टिन्छ, किनभने गणेश मूलतः आज व्यापारीहरूको ऋद्धि, सिद्धि तथा शुभ-लाभसँग सम्बन्धित देउता छ। गणेशको वैदिक भूमिका अग्निस्थापनादि पूजाआजामा देखा पर्ला, तर सिङ्गै गणेशपुराण र जम्मै गणेश-गीता मूलतः केनिमूलीय छ। त्यहाँ वैदिक वाच्यार्थ (गणको पति)-को सार्थकता नगण्य छ।

‘‘अब यहाँनेरि गणेशको प्रिय व्यापारिक चिह्न स्वस्तिकको पनि चर्चा आवश्यक होला। यो स्वस्तिक अरुण उपासनाबाट उत्सृत भए पनि यो बड़ो गजबले केनानी व्यापारीहरू माझ पुग्न सक्यो। यसलाई त्यहाँ पुऱ्यायो अवश्य गणेशले। विनता नामकी पक्षीका पुत्र मानिने अरुण (Ouranos) र गरुड़ (Gordius) दुवैको चासो सुनसँग भएको कुरो संस्कृत सुनवाची शब्द गारुड़ (Gold) र आरुण बताउँछन्। व्यापारी समाजमा प्रचलित स्वस्तिकको चिह्न (卐)-लाई नियालेर हेर्दा त्यो अझै पनि दुई पखेटा फैलाएर अनि पुच्छर र टाउको तन्काएर आकाशमा उड़िरहेको चरोझैँ देखिन्छ। किन-बेचशिल्पी (केनानी)-हरूले स्वीकार गरेका छ प्रकारका गणपतिमध्ये एक गणपतिको नाम स्वर्ण भएको कुरो माथि बताइसकिएको छ। स्पष्टतः यो स्वस्तिक तिनै स्वर्ण नामक गणपतिको प्रतीक हो, जसको नामको निर्वचन ‘सु अरुण’-को सन्धिमा आधारित हुन सक्छ।”

प्रतीक रूपमा गणेश-

गणेश जन्मबाटै लोकोत्तर चेतना (transcendental consciousness) हुन्। यिनलाई शिव र पार्वतीको छोरो भन्ने कथा बनाइएको पाइन्छ। शिव भन्नु आत्मा (supreme self) हो। पार्वती हुन् पर्वतकी छोरी अर्थात् शक्ति। गणको ईश गणेश आफूमा राख्नपर्ने हो, त्यो हो सशक्त आत्मा।

गणेशको मूर्ति नै प्रतीकात्मक छ। गणेशको मूर्तिबाट सदाचारको शिक्षा यसरी लिन सकिन्छ-

हात्तीलाई ज्ञानी पशु मानिन्छ। हाती ज्ञानको प्रतीक हो। हात्तीको टाउको हुनाले गजानन भनिएको थाहा भएकै हो। ठूलो निधारले उच्च विचार राख्नू भन्ने सिकाउँदछ। ठूलो कान हुनु भनेको सबैका विचार सुन्ने हुनू भनेको हो। त्यो हो ग्राह्य शक्ति– प्रशंसा र निन्दालाई बराबर सम्झेर लिनसक्नुपर्ने शिक्षा ठूलो कानले दिँदछ। ठूलो भुँडी भनेको प्रशंसा र निन्दालाई एउटै मानेर पचाउनु हो। साना आँखा हो जीवनमा सूक्ष्म दृष्टि राख्ने प्रेरणा। लामो नाकको अर्थ हो दुर्गन्ध (विपदा) टाड़ैबाट चाल पाउने शक्ति। अघिबाटै सूचित भएर सुरक्षाको युक्ति विकसित गर्नुपर्ने शिक्षा। गणेशका दुइटा देखिने दाँत छन् – एउटा पूरा अर्को टुक्रे। अखण्ड अर्थात् नटुक्रेको पूरा दाँत श्रद्धाको प्रतीक हो अर्थात् श्रद्धा सधैँ चाहिने। खण्डित दाँत हो बुद्धि। एकपल्ट बुद्धि भ्रमित भए पनि श्रद्धा नडगमगाउने। हातको लड्डू भनेको मीठोको संकेत हो। ज्ञानलाई लड्डूजस्तै मीठो मानेर लिनू भनिन्छ। मुसो हो कुनै पनि चीज चिरफार गर्ने अर्थात् विश्लेषण गर्ने। डोरीका गाँठा पनि टोकेर फुकालिदिनु सक्ने भनेको शास्त्रको अर्थ खोलिदिने शक्ति हो।

गणेशको पूजा भारतबाहिर नेपाल, इन्डोनेसिया, भियतनाम, बर्मा, चीन, जापान, र अफगानिस्तान आदि देशमा पनि हुन्छ। गणेशलाई कृषिका देउता पनि मानिन्छ। ठूलो कानलाई नाङ्लो, एकदन्तलाई हलोको प्रतीक मानिन्छ।

चौथीको चकचक: भागवतअनुसार सत्राजित नामका एकजना यदुवंशीले सूर्य भगवान्‌को तपस्या गरेबाट स्यमन्तक मणि पाए। त्यो मणिबाट दिनहुँ सुन निस्कँदथ्यो अनि मणिका प्रभावले यदुदेश रोग, अनावृष्टि, साँप, आगो र चोरदेखि बाँचेको थियो। एक दिन सत्राजितले राजा उग्रसेनको राजप्रासादमा सबैलाई मणि देखाए। श्रीकृष्णले सोचे मणि राजा उग्रसेनसित भएको राम्रो हो। कुन्नि कसरी सत्राजितले श्रीकृष्णको मनको कुरा थाहा पाए। उसले त्यो मणि आफ्नो भाइ प्रसेनलाई दिए। एक दिन प्रसेन जङ्गल जाँदा सिंहले माऱ्यो। प्रसेन नआउँदा मानिसहरूमा चियो भयो – पक्का पनि मणिको लोभले प्रसेनलाई कृष्णले मारे। कृष्णलाई यो आरोप लागेको थियो किनभने कृष्णले चौथीको चन्द्र हेरेका थिए। मरेको बेला प्रसेनसित स्यम्तक मणि थियो। त्यो सिंहको मुखमा अड़्केको थियो। सिंहलाई जाम्बवानले मारेर मणि मणि आफूसित राखेका थिए। पुराण भन्छ – जाम्बवानसित मणि भएको कृष्णलाई थाहा थियो। कृष्ण जाम्बवान बस्ने गुफा पुगेर २१ दिन युद्ध भएपछि बल्ल जाम्बवानलाई श्रीकृष्ण त आफ्नै इष्टदेव श्रीरामजस्तै छन्। छोरीले खेल्दैगरेकी मणि कृष्णलाई फर्काइदिए। मणि ल्याएर कृष्णले सत्राजितलाई दिए अनि दोषमुक्त भए।

शिवजीले गणेशको टाउको काटेर हात्तीको टोउको लगाइदिँदा नराम्रे देखेर सुन्दर चन्द्रदेव हाँसेको देखेर गणेशले श्राप दिनाले चन्द्रमा कलङ्कित भए। ब्रह्माको प्रसाद शिवजीले कार्तिकेयलाई दिए तर प्रसाद नपाउने गणेश ठुस्केको देखेर चन्द्र हाँसे। खिसी गरेको देखेर गणेशले श्राप दिए – पनि भनिन्छ। चन्द्रले क्षमा मागे। वर्षभरिका लागि क्षमा पाए पनि भदौमा चन्द्र कलङ्कित हुने भयो। अझ चौथीको चन्द्र त हेर्नै हुन्न। हेरेमा कृष्णजीको जस्तै आरोप लाग्छ। आरोप लाग्ने नै हो भने ठूलो आरोप नलागोस् तर सानै आरोप लागेर टरोस् भनेर कसैले अर्काको घरको छानोमा ढुङ्गा हान्ने, अर्काको बारीको काँक्रा चोर्ने वा सानोतिनो चकचक गरिटोपल्ने काम गर्ने गर्दछन्। यसो गरे ठूलो आरोपबाट बाँचिन्छ भन्ने लोकविश्वास छ।

गाणपत्य: गणेशलाई मूलदेवता मान्ने गाणपत्य बहुसङ्ख्यामा बस्ने ठाउँ हो दक्षिण भारत। महाराष्ट्रमा गणेशपन्थीहरू सर्वाधिक छन्। शिवपुराणमा उल्लेख्य कथाले गणेशको महत्त्वलाई पराकाष्ठामा पुर्याहएको छ। कथाअनुसार सबैभन्दा पहिले गणेशलाई पुजेर मात्र अरूलाई पुज्नेमा सबै हिन्दू सम्प्रदायको सहमति छ। वैदिक मन्त्रोच्चारण र स्तोत्रहरूले गणेश-महिमा गाइआएकै हुन्। मराठा साम्राज्यका संस्थापक शिवाजी (१६३०-८०)-ले गणेश पूजालाई सार्वजनिक उत्सवको रूप दिएको इतिहासले भन्छ। त्यसपछि पूणेका शासक पेशवाहरूले अप्नाएको पारिवारिक इष्टदेव हुनाले गणेश उत्सव अझ प्रचारमा आयो। पेशवाको पतनपछि गणेश उत्सवले अभिभावक पाएन। एकैचोटि भारतीय राष्ट्रिय काङ्ग्रेसका प्रमुख र प्रिय नेता, समाज सुधारक र स्वतन्त्रता सेनानी बालगङ्गाधर तिलक (१८५६-१९२०)-ले १८९३-मा गणेश चतुर्थीलाई फेरि सार्वजनिक उत्सवको रूप दिएका थिए। स्वतन्त्र भारतको उदयपछि गणेश उत्सव धुमधाम बढ्यो। अचेल त यूरोप र अमेरिकामा पनि थुप्रै ठाउँ गणेश उत्सव हुन्छन्।

गोर्खाको गणेश: नेपालको गणेश स्थलको मन्दिर प्राचीन मानिन्छ। बौद्ध धर्म मान्ने भारतको गुप्तकालका जस्तै लिच्छविकालका मूर्तिहरूमा विनायकका रूपहरू छन्। नेवारहरूले नृत्य गणेश पनि मान्थे। तिब्बती तन्त्रवादमा पनि गणेशको स्थान छ। त्यहाँ महाकालसित गणेश राखिएकै हुन्छ। नेवारहरूले गणेशजीलाई एइला (घरको शुद्ध रक्सी) र खे (अण्डा) चढ़ाउँछन्। पुरोहित गर्ने बाहुनहरूले काशीमा भन्ने शङ्कराचार्येली श्लोकहरू सिकाउँछन्। १९७०-को दशकदेखि सत्य साईको प्रचार भएदेखि आन्ध्रेली पद्धतिका गणेशपूजन प्रणाली व्यापक प्रचारमा आयो। अचेल टीभी र इन्टरनेटले अझ के-के सिकाउँछन् के-के।

                              ******

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *