गान्तोक: सिक्किमको राजधानी गान्तोकमा मानव उत्थान सेवा समिति (माउसेस) उत्तरपूर्वाञ्चल क्षेत्र सांस्कृतिक प्रकोष्ठको तत्वावधानमा एउटा साङ्गीतिक अडिशन सम्पन्न भयो। आगामी दिसम्बर महिनाको अन्त र जनवरी महिनाको प्रथम दिन सिलगढीको सालुगढामा आयोजना हुने विराट सदभावना सम्मेलनलाई ध्यानमा राख्दै आयोजन गरिएको यो अडिशनमा राज्यको मंगन, गान्तोक अनि पाकिम जिल्लाबाट उदीयमान बाल एवं युवा प्रतिभाहरुले सहभागिता जनाएका थिए। अडिशनका निर्णायकहरुमा सिक्किम दार्जीलिङ हिमाली पहाडका प्रसिद्ध नेपाली भजन गायक विमल राई, गायिका वर्षा सिंह, कालेबुङबाट गायक विरेन कालिकोटे, कालेबुङकै नाट्य कलाकार सचिन खाती, रोशनी रुचाल आदि थिए भने वाद्य वादनमा प्रीतम छेत्री, सिराज दर्जी, बालसङ दोर्जे तामाङ अनि कृपाल प्रधान रहेका थिए। प्रतिभागी बाल एवं युवा प्रतिभाहरुले आ आफ्ना एकल भजन र सन्देशमुलक सामूहिक अध्यात्मिक नाटकहरु प्रस्तुत गरे।
आजको यो अडिशनमा छ्नौट भएका प्रतिभागीहरुले राज्यस्तरको अडिशनमा भाग लिनेछन्। राज्यस्तरको अडिशनमा चयनित हुने प्रतिभागीहरूले आगामी दिसम्बर महिनाको अन्त र जनवरी महिनाको प्रथम दिन सिलगढीको सालुगढामा आयोजना हुने विराट सदभावना सम्मेलनमा आफ्नो प्रस्तुति दिइने अवसर प्राप्त गर्नेछन्।
राजधानीको सोनाम ग्यात्सो मार्गमा अवस्थित सम्भाला आश्रममा सम्पन्न भएको यो अडिशनमा सिक्किम दार्जीलिङ हिमाली क्षेत्रका प्रभारी महात्मा अखिलेश बाईजी, सिक्किम राज्य समितिका प्रभारी महात्मा ज्ञान बाईजी, गान्तोक तहसिल प्रभारी महात्मा निर्मोही बाईजी अनि मङ्गन तहसिल प्रभारी महात्मा विश्रान्ती बाईजीको विशेष उपस्थिति थियो।










