कालचिनी: सोमबार राती करिब ९ बजे कालचिनी खण्डको गारोपाड़ा ग्राम पञ्चायतअन्तर्गत पर्ने अठियाबारी चियाबारीको १२ नम्बर झोड़ाको मूल साँघु अचानक एक किनारबाट चर्किएर ध्वस्त हुँदा सम्पूर्ण अठियाबारी चियाबारी र आउट डिभिजन बंगबारी डिभिजनमा खैलाबैला मच्चियो। राती अचानक ठूलो आवाज सुनेर गाउँलेहरु टर्चलाइट बालेर घटनास्थलमा पुग्दा अठियाबारी गाउँ र फ्याक्ट्रीलाई जोड़ने मूल साँघु एकातिरबाट धराशायी भएको देख्दा हल्लाखल्ला मच्चियो।

उक्त साँघु भत्किन्दा भाग्यवश कसैको ज्यान क्षति नभएको स्थानीय बासिन्दाहरुले बताएका छन्। स्थानीय बासिन्दाहरुले बताएअनुसार साँझ भएपछि उक्त साँघुमा गाउँका केटाकेटीहरु जमा हुने गर्थ्यो, तर दुर्घटनाको रात धन्य कोही पनि साँघु अनि यसको छेउछाउमा नभएकोले कसैको हताहत भएनन्। यता उक्त साँघु अठियाबारी र आउट डिभिजन बंगबारी एवं कमानको फ्याक्ट्री र अफिसलाई जोड़ने लाइफलाइन रहेको त्यो पनि यसरी भत्किएपछि मङ्गलबारदेखि स्थानीय बासिन्दाहरुले समस्या भोग्न परेको र धेरै लामो बाटो तथा भातखावा चियाबारी हुँदै अठियाबारी बजार र कमानको फ्याक्ट्री धाउन बाध्य भएको बताएका छन्।
यता आज उक्त साँघु भत्किएको सम्पूर्ण सीएटी रिपोर्ट तयार गरेर कालचिनी बीडीओ कार्यालयमा पठाइएको र शीघ्रै यसको मरम्मती तथा निर्माणको समाधान निस्कने गारोपाड़ा ग्राम पञ्चायत प्रधान बिन्दिया लामाले जनाएकी छिन्। अर्कोतिर अठियाबारीका पञ्चायत समितिको सदस्य तथा विरोधी दल नेता तोफिल सोरेङले यसको झट्टै निर्माणको निवेदन गर्न ब्लक साथै जिल्ला प्रशासन समक्ष पत्राचार गरेको बताएका छन्।










