पाकिस्तानमा बाढीले व्यापक रुपमा क्षति, करोडौं प्रभावित

पाकिस्तान: पाकिस्तानमा अविरल वर्षापछि आएको बाढीका कारण धेरै क्षेत्रमा ११ सयभन्दा बढीले ज्यान गुमाएका छन्। जबकि बाढीबाट करोडौं मानिस प्रभावित भएका छन्। बाढीका कारण पाकिस्तानको एक तिहाइ भूभाग पानीमा डुबेको छ। पाकिस्तानको शाहबाज शरीफ सरकारले विश्वभरबाट सहयोग खोजिरहेको छ। पाकिस्तान सरकारको जलवायु परिवर्तन मन्त्री शेरी रहमानले अत्यधिक मनसुन वर्षाका कारण पाकिस्तानको एक तिहाइ भाग बाढीको सामना गरिरहेको बताइन्। मन्त्री शेरी रहमानले यसलाई दशककै विनाशकारी मनसुन भनेकी छिन्। राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार आर्थिक संकट झेलिरहेको पाकिस्तानमा मङ्गलबारसम्म ११ सयभन्दा बढीको मृत्यु, १६ सयभन्दा बढी घाइते भएका छन्। एनडीएमएका अनुसार बाढीमा ७ लाखभन्दा बढी जनावरको मृत्यु भएको छ। बाढीका कारण ३ हजार ४५१ किलोमिटर सडक, १ सय ४९ पुल, १ सय ७० पसल र करिब १० लाख घरमा क्षति पुगेको छ। पाकिस्तानको पहाडी क्षेत्रमा हजारौं मानिस फसेका छन्, उनीहरुको उद्धारको प्रयास भइरहेको छ। फसेका मानिसको उद्दारका लागि हेलिकप्टरको प्रयोग भइरहेको भएपनि अहिलेसम्म सबैको उद्धार हुनसकेको छैन।

पाकिस्तानी अधिकारीका अनुसार बाढीका कारण पाकिस्तानका करिब ३ करोड मानिस प्रभावित भएका छन्। उनले प्रत्येक सात पाकिस्तानीमध्ये एकजना बाढीबाट प्रभावित भएको बताए। बाढीका कारण धेरै ठाउँमा सडक, भवन, पुलहरु पानीमा बगेका छन्। सर्वसाधारणको अवस्था दयनीय छ। एक्सप्रेस ट्रिब्युन अखबारको रिपोर्टअनुसार पाकिस्तानको खैबर पख्तुनख्वामा हजारौं गाउँहरू छन् जहाँ त्यहाँ बस्ने मानिसहरूको पाकिस्तानका अन्य क्षेत्रहरूसँगको सम्पर्क पूर्ण रूपमा टुटेको छ। किनभने नदीको तीव्र बहावका कारण उनीहरुको क्षेत्रमा सडक र पुल भत्किएका छन्। पहिले नै आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानमा आएको बाढीका कारण अहिले अवस्था बिग्रिएको छ। पाकिस्तानको शाहबाज शरीफ सरकारले विश्वभरबाट राहत कोषको सहयोग खोजिरहेको छ। मङ्गलबार संयुक्त राष्ट्र संघसँग मिलेर पाकिस्तान सरकारले आपतकालीन सहायताको लागि १६० मिलियन डलर कोषको लागि औपचारिक अपील पनि गर्नेछ।

सोमबार एक पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले पाकिस्तानमा वर्षा जारी रहेकाले स्थिति अझ खराब हुनसक्ने बताए। डुजारिकले मङ्गलबार पाकिस्तान सरकारसँग मिलेर १६ करोड डलर सहयोगको लागि अपिल गर्ने बताए। साथै उनले अवस्थालाई मध्यनजर गर्दै संयुक्त राष्ट्र संघले आपतकालीन सहायतास्वरुप ३० लाख डलरको कोष जारी गरेको बताए। भारी वर्षापछि पाकिस्तानमा बाढीका कारण ठूलो क्षति भएको छ। पाकिस्तान सरकारका योजना मन्त्री एहसान इकबालले बाढीका कारण पाकिस्तानलाई १० अर्ब डलरभन्दा बढीको नोक्सान भएको बताएका छन्। मन्त्रीले यो प्रारम्भिक अनुमान मात्रै भएको बताए र यो निकै ठूलो हो। मन्त्रीले देशको आधाभन्दा बढी कपास बाली पानीमा डुबेको बताए। फलफूल, तरकारी र धान खेती पूर्ण रुपमा ध्वस्त भएको छ। उनले यो प्रारम्भिक घाटा मात्र भएको बताए। ग्राउण्ड सर्भे गरेपछि यो अझ माथि जानसक्छ।

About Author

Advertisement