गान्तोक: कृषि विज्ञान केन्द्र र भारतीय कृषि अनुसन्धान केन्द्रले संयुक्त रुपमा आज पूर्व सिक्किमअन्तर्गत मार्ताममा प्रशिक्षणसँगै विभिन्न उपकरण वितरण गऱ्यो। यस अवसरमा वरिष्ठ कृषि वैज्ञानिक र विशेषज्ञहरुले स्थानीय कृषकहरुलाई जैविक खेती उत्पादन विस्तारबारे जानकारी गराए। जसमा डा. प्रकाश शर्माको नेतृत्वमा लाभार्थीहरुलाई जैविक कृषिबारे परामर्श दिएको थियो। यो कार्यक्रम केन्द्र सरकारको विभिन्न योजनाअन्तर्गत पर्दछ जसले लाभार्थीहरुलाई भरपूर सहयोग पुऱ्याउने कार्य गर्दै आएको छ। कार्यक्रममा मार्ताम ग्राम विकास केन्द्रअन्तर्गत विभिन्न ग्रामीण क्षेत्रका २० कृषकहरुको सहभागिता थियो। विशेषज्ञहरुले कुखुरापालनबाट हुने जीविकोपार्जनबारे जानकारी गराएका थिए। विज्ञ प्रशिक्षकहरूले मुख्य गरि वनराज फार्म, ब्रुडर विकास, अण्डा उत्पादन र दाना व्यवस्थापनका बारेमा मार्गदर्शन गरेका थिए। डा. प्रकाश शर्माले यसको प्राथमिकता, मूल्य र नाफाको मार्जिन उल्लेख गर्दै ब्रोइलर कुखुराको तुलनामा वनराज खेतीका फाइदाहरूमाथि प्रकाश पारेका थिए। विषयविज्ञहरूमा बोनिफेस लेप्चा, डा. जनककुमार सिंह, डा. स्वप्ना रानी, डा. स्मृति रञ्जन प्रधान, र डा. आकांक्षाले कुखुरा र कृषि बाली खेती सम्बन्धी बहुमूल्य सल्लाह दिएका थिए। यस प्रकारको पहलले किसानको आय बढाउन र दिगो कृषि अभ्यासहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।