काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले दिएको १५ दिनको समयसीमाभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन फेरि काटिने बताए। बुधबार पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक घिसिङले १५ दिनभित्र बक्यौता नबुझाए उद्योगहरूको लाइन पुन: काटिदिने बताए। ‘सरकारले नै १५ दिनभित्र बक्यौता उठाउन निर्देशन दिएको छ। यदि १५ दिनभित्र कुनै उद्योगले बक्यौता नतिरे फेरि लाइन काट्छौँ,’ उनले दोह्राएर भने। कार्यकारी निर्देशक घिसिङले आफूहरूले सरकारले दिएको निर्देशन मानेर लाइन जोडेकाले बक्यौता नउठे त्यसको जिम्मा सरकार र ऊर्जा मन्त्रालयले लिनुपर्नेमा जोड दिए। “हामीलाई सरकारले २४ घण्टाभित्र लाइन जोड्न निर्देशन दिएपछि लाइन काटिएका उद्योगमा पुन: लाइन जोडेका हौँ। सरकारले १५ दिनभित्र बक्यौता उठाउने भनेको छ। तर, बक्यौता समयसीमाभित्र उठेन भने त्यसको जिम्मेवारी सरकार र ऊर्जा मन्त्रालयले नै लिनुपर्छ’’, उनको भनाइ थियो।









