भद्रपुर: नेपालबाट लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा) खपत तीन गुणाले बढेको देखिएको छ। आर्थिक वर्ष २०१७/२०१८ मा ३ अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत आर्थिक वर्ष २०२३/२०२४ मा १० अर्ब २ करोड युनिट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिटले वृद्धि भएको हो। आठ वर्षअघि विद्युत् खपत वृद्धिदर नै ऋणात्मक रहेको छ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी गार्हस्थतर्फ ४ अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ ३ अर्ब ६९ करोड युनिट विद्युत् खपत भएको प्राधिकरणले जनाएको छ। बाँकी विद्युत् अन्य समूहका ग्राहकले खपत गरेका हुन्। आठ वर्षअघि १३१ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत गत आर्थिक वर्षसम्म आइपुग्दा चार सय युनिट पुगेको छ।
आठ वर्षअघि ५८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् पुगेको थियो। अहिले ९९ प्रतिशतमा विद्युत् पुगेको छ। विद्युत्को पहुँच पुगेका घरपरिवारमध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र दुई प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघु जलविद्युत्, सौर्य ऊर्जालगायतबाट विद्युत् उपभोग गरिरहेको प्राधिकरणको तथ्याङ्क छ। आठ वर्षअघि विद्युत्का ग्राहक करिब ३० लाख रहेकोमा हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यपछि पर्याप्त निरन्तर विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् खपत बढेको बताए। “ठुला तथा साना उद्योगले निरन्तर विद्युत् आपूर्ति पाइरहेका छन्, यस अवधिमा उद्योगको धैरे लोड स्वीकृत गरिएको छ, खाना पकाउनलगायत घरायसी प्रयोजनमा विद्युतीय उपकरणको प्रयोग बढेको छ,” उनले भने , “निजी तथा सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको छ, विद्युतीकरण व्यापक रूपमा गरिएकाले आन्तरिक रूपमा विद्युत्को खपत बढिरहेको छ।” उनले आन्तरिक रूपमा विद्युत्को खपत बढाउने, उत्पादन वृद्धि गरी आयात घटाउने र निर्यात वृद्धि गर्ने गरी काम भइरहेको उल्लेख गरे।
आर्थिक वर्ष २०१५/२०१६ मा ३ अर्ब ७२ करोड युनिट रहेको विद्युत् खपत आर्थिक वर्ष २०१६/२०१७ मा २८.४७ विन्दुले बढी ४ अर्ब ७७ करोड युनिट पुगेको थियो। आर्थिक वर्ष २०१७/२०१८ मा विद्युत् खपत ५ अर्ब ५६ करोड, २०१८/२०१९ मा ६ अर्ब ३० करोड युनिट, २०१९/२०२० मा ६ अर्ब ४२ करोड, २०२०/२०२१ मा ७ अर्ब २८ करोड युनिट भएको थियो।
यसै गरी आर्थिक वर्ष २०२१/२०२२ मा आठ अर्ब ८४ करोड, आर्थिक वर्ष २०२२/२०२३ मा ९ अर्ब ३५ करोड र आर्थिक वर्ष २०२३/२०२४ मा १० अर्ब दुई करोड युनिट विद्युत् खपत भएको थियो। आर्थिक वर्ष २०२२/२०२३ को तुलनामा आर्थिक वर्ष २०२३/२०२४ मा विद्युत् खपत करिब १० प्रतिशतले बढेको हो।
गत आर्थिक वर्षमा पिक डिमान्ड (विद्युत् बढी माग हुने समय) अघिल्लो आर्थिक वर्ष २०२२/२०२३ को तुलनामा ११.३४ प्रतिशतले वृद्धि भएको थियो। गत आर्थिक वर्षको मई १ मा देशभित्रको सबैभन्दा बढी विद्युत्को माग रेकर्ड गरिएको थियो। उक्त दिन पिक डिमान्ड २ हजार २१२ मेगावाट पुगेको थियो।










