मंगन: मंगन जिल्लामा आज नशामुक्त भारत अभियानलाई लिएर सचेतना जगाउने उद्देश्यले मंगनका जिल्लापालको निर्देशमा मंगन नगर पञ्चाययत कार्यालय परिसरमा एक कार्यक्रम आयोजना गरियो। यस कार्यक्रममा मंगन नगर पञ्चायतकी अध्यक्ष नोर्कित लेप्चा, पार्षदगण, पञ्चायत सदस्य लगायत आम मानिसहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा स्रोतवक्ताको रूपमा मंगन पुर्नवास केन्द्रका नुरासासुस लेप्चा रहेका थिए। आफ्नो सम्बोधनको क्रममा लेप्चाले नशामुक्त भारत अभियान सामाजिक न्याय मन्त्रालयद्वारा शुरू गरिएको एक ध्वजवाहक कार्यक्रम रहेको जानकारी गराए। यो कार्यक्रम नशालु पदार्थ विरूद्ध संघर्ष गर्नको निम्ति शुरू गरिएको बताए। उनले आफ्नो सम्बोधनको क्रममा लागुऔषध दुरुपयोगको जोखिम, व्यक्ति, परिवार र समाजमा यसको असर र स्वस्थ जीवन जिउनुको महत्त्व र फाइदाहरूबारे शिक्षित र संवेदनशील बनाउने कुराहरूमाथि जोड दिएका थिए ।उनले लागुऔषध दुर्व्यवसन किन बढ्दै गएको छ र हामीले समाजको हैसियतले यस समस्यालाई कसरी सम्बोधन गर्न सक्छौं भन्ने विषयमा पनि चर्चा गरे। उनले शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन व्यायाम र क्रियाकलापमा व्यस्त रहन सहभागीहरुलाई आग्रह गरे। लेप्चाले स्वस्थ आहार र चिकित्सक अर्थात सल्लाहकारसँग सल्लाह गर्दा लागुपदार्थ दुरुपयोगसँग संघर्ष गरिरहेकाहरूलाई सकारात्मक रूपमा सहयोग पुग्ने सुझाव पनि दिए।