सरकारी अधिसूचनाहरू नेपाली भाषामा गर्ने अधिसूचना जारी गर्ने सिक्किम सरकारको निर्णयलाई क्रामकापाद्वारा स्वागत साथै धन्यवाद

IMG-20240822-WA0264

खरसाङ: गान्तोकस्थित मनन केन्द्रमा अनुष्ठित ३३औं नेपाली भाषा मान्यता दिवसको पावन अवसरमा सिक्किमका मुख्यमन्त्रीको हैसियतमा पीएस गोलेको ओजपूर्ण भाषणमा सरकारी अधिसूचना नेपाली भाषामा जारी गरिने घोषणा तत्कालै अधिसूचना जारी गरिएकोमा क्रामाकपा केन्द्रीय कमिटीको पक्षबाट धेरै धन्यवाद दिइएको छ। क्रामाकपा केन्द्रीय समितिको प्रवक्ता अरूण घतानीले एक प्रेस विज्ञप्ति जारी गर्दै क्रामाकपाको पक्षबाट सिक्किम सरकारको निर्णयको स्वागत तथा धन्यवाद दिएका छन्। उनले क्रामाकपाको पक्षबाट प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् – ‘भारतीय नेपाली भाषी गोर्खाहरूको निम्ति मुख्यमन्त्री पीएस गोलेको पहल ऐतिहासिक र दह्रिलो कोशे ढुङ्गा बनेको छ। नेपाली भाषा मान्यताको मागको शुभारम्भ देहरादूनबाट आनन्दसिंह थापाले शुरू गर्नु भयो भने सम्माननीय गोलेज्युले नयाँ इतिहास बनाए। तर जातिय मुक्ति आन्दोलनको राग अलाप्ने साथै भारतेली गोर्खाको मूल थलो दार्जीलिङका शासक नेताहरूले गफ मात्र हाँके। दागोपाप, जीटीएको चौकी राज्यको दलाली गर्ने अड्डा मात्र बन्यो तर जातिय हितमा ठोस कार्य गर्न सकेन। क्षेत्रीय प्रशासनमा बस्ने दार्जीलिङे नेताहरूलाई सिक्किमले ठूलो पाठ सिकाएको छ। क्रामाकपाले यसपल्ट पुनः पहाड तराई डुवर्सका पञ्चायत, समिति, जीटीए साथै राज्य सरकारी कार्यालयहरूमा नेपाली भाषामा अधिसूचना, फारम, आवेदन, सबै नेपाली भाषामा हुन पर्ने अभियान शुरू गरेको छ।”
क्रामाकपा केन्द्रीय प्रवक्ता अरूण घतानीले अघि भने, ‘२१औं शताब्दीमा पनि बंगालमा हामी जातीय उत्पीडन र भाषिक अतिक्रमणबाट उन्मुक्तिको संघर्षमा लागि परेको अवस्थामा भाषा दिवसको अवसरमा सिक्किम सरकारको अध्यादेशले नेपाली भाषी भारतीय नेपाली/गोर्खाहरू गौरवान्वित भएका छन्। अन्त्यमा यहाँको मार्ग निर्देशनले गोर्खाहरूको दीर्घकालीन समस्या समाधानमा सहयोग हुन्छ भन्ने विश्वास गरेका छौं।’

About Author

Advertisement