खरसाङ: विभिन्न सरकारी निकायहरू र विभागहरूले नेपाली भाषा प्रयोग गर्नु पर्ने मांग गर्दै गोर्खा जनपुस्ताकालय खरसाङद्वारा ज्ञापन पत्र बुझाएका छन्। भारतीय नेपाली गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्ताकालय खरसाङको एक प्रतिनिधि टोलीले खरसाङको विभिन्न सरकारी कार्यालयहरू र विभागहरूमा नेपाली भाषाको अनिवार्य प्रयोग गर्नुपर्छ भनी मांग गरेका छन्। उक्त प्रतिनिधि टोलीमा पुस्तकालयको उपाध्यक्ष प्रकाश प्रधान, मूल सचिव विनोद रसाईली, कोषाध्यक्ष उत्तमकुमार गुरुङ र कार्यकारी सदस्य सदस्याहरू क्रमैले आशा मुखिया लामा, प्रनिता मुखिया घिसिङ, हरि प्रधान आदि उपस्थित रहेका थिए। उक्त टोलीले खरसाङ महकुमा शासक आईएएस बिन्दावासी तेजा दिपकलाई नेपाली भाषा प्रयोगको मांगमा ज्ञापन दिएको छ। त्यसरी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापालाई खरसाङको गिध्द पहाड़स्थित जीटीएको सचिवालयमा ज्ञापन दिने कार्य गरेका छन्। यद्यपि भाषा दिवसको दिन कार्यालाय छुट्टी भएको कारणले विभागका अधिकारी गोबिन छेत्रीद्वारा ज्ञापन पत्र रिसिभ गरिएको जानकारी प्राप्त भएको छ। त्यसरी खरसाङ नगरपालिका, खरसाङ डाक घरको पोस्ट मास्टर, आकाशवाणी खरसाङ पनि पुगेर अधिकारीहरूलाई ज्ञापन पत्र सुम्पेका छन्।

यसै क्रममा राष्ट्रिय राजमार्गमा लेखिएको विभिन्न बोर्डहरूमा नेपाली भाषाको प्रयोग सही हुनु पर्ने र सठीक हिज्जे लेखिनु पर्ने मांग गर्दै पत्रचार गरेर पत्र डाकमार्फत् पठाइने भएको जानकारी प्राप्त भएको छ। भाषा र साहित्यको लागि लामो समयदेखि कार्य गर्दै आईरहेका अग्रणी संस्था गोर्खा जनपुस्ताकालय खरसाङले यसपाली नेपाली भाषाको प्रयोग सठीक रूपमा र सही तरिकाले हुनु पर्ने साथै अनिवार्य रुपमा हुनु पर्ने मांग गर्दै भेटघाटसहित ज्ञापन दिने कार्य गरेका छन्।