भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूद्वारा ७८औं स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा राष्ट्रको नाममा सन्देश

The President of India, Smt. Droupadi Murmu addresses to the Nation on the Eve of the 78th Independence Day via video message on August 14, 2024.

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मुले ७८औंस्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा राष्ट्रको नाममा सन्देश जारी गरेकी छिन्l पीआईबीले उपलब्ध गराएको उनको सन्देशको नेपाली रुपान्तरण यहाँ प्रस्तुत छ:   

मेरा प्यारा देशवासीहरू,

म तपाईंहरू सबैलाई स्वतन्त्रता दिवसको हार्दिक शुभकामना दिन चाहन्छु। सबै देशवासीले ७८औं स्वतन्त्रता दिवसको उत्सव मनाउन तयारी गरिरहेका छन्, यो देखेर मलाई धेरै खुशी लागिरहेको छ। स्वाधीनता दिवसको अवसरमा लहराउँदो तिरङ्गा हेर्नु – चाहे त्यो लाल किल्लामा होस्, राज्यका राजधानीहरूमा होस् वा हाम्रो वरिपरी, हाम्रो हृदयलाई उत्साहले भरिदिने गर्दछ। यस उत्सवले १४० करोडभन्दा धेरै देशवासीका साथ यस महान देशको अंश हुनुको हाम्रो खुशी अभिव्यक्त गर्दछ। जुन प्रकारले हामी आफ्नो परिवारका साथ विभिन्न चाड-पर्व मनाउँदछौं, त्यसै गरी हामीले आफ्नो स्वतन्त्रता दिवस र गणतन्त्र दिवसलाई पनि आफ्नो परिवारका साथ मनाउँदछौं जसका सदस्य हाम्रा सबै देशवासी हुन्।

१५  अगस्तको दिन, देश-विदेशमा सबै भारतीयले ध्वजारोहण समारोहमा भाग लिन्छन्, देशभक्ति गीत गाउँछन् अनि मिठाई बाँडद्छन्। बालबालिकाहरूले सांस्कृतिक कार्यक्रमा भाग लिन्छन्। जब हामीले बालबालिकाहरूलाई आफ्नो महान राष्ट्र तथा भारतीय हुनुको गौरवबारे कुरा गरेको सुन्दछौं, तब उनीहरूका उद्गारमा हामीले महान स्वतन्त्रता सेनानीको भावनाको प्रतिध्वनि सुन्ने गर्दछौं। हामीलाई के अनुभव हुँदछ भने हामी त्यस परम्पराको अंश हौं जसले स्वाधीनता सेनानीहरूको सपना अनि ती भावी पिँढीका आकाङ्क्षालाई एक कडीमा बुन्नुपर्नेछ, जसले आउने वर्षहरूमा हाम्रो राष्ट्रले आफ्नो सम्पूर्ण गौरव पुनः प्राप्त गरिरहेको देख्नेछन्।

इतिहासको यस शृङ्खलाको एउटा कडी हुनुको बोधले हामीभित्र विनम्रताको सञ्चार गर्दछ। यस बोधले हामीलाई ती दिनहरूको स्मरण गराउँदछ जब हाम्रो देश विदेशी शासनको अधीनमा थियो। राष्ट्रभक्ति अनि वीरताले ओतप्रोत देशप्रेमीहरूले अनेकौं जोखिम उठाए अनि सर्वोच्च बलिदान दिए। हामी उनीहरूको पावन स्मृतिलाई नमन गर्दछौं। उनीहरूका अथक प्रयासको बलमा भारतको आत्मा युगौंदेखिको निद्राबाट जागेको थियो। अन्तर धाराका रूपमा सदैव विद्यमान रहेको हाम्रो विभिन्न परम्परा अनि मूल्यलाई पिँढी-दर-पिँढी हाम्रा महान स्वतन्त्रता सेनानीहरूले नयाँ अभिव्यक्ति प्रदान गरे। मार्गदर्शक नक्षत्रका रूपमा राष्ट्रपिता महात्मा गान्धीले स्वाधीनता संग्रामको विभिन्न परम्परा अनि त्यसका विविध अभिव्यक्तिलाई एकजुट गरे।

यसका साथै सरदार पटेल, नेताजी सुभाषचन्द्र बोस अनि बाबासाहेब अम्बेडकर तथा भगत सिंह र चन्द्रशेखर आजाद जस्ता अनेकौं महान जननायक पनि सक्रिय थिए। यो एउटा राष्ट्रव्यापी आन्दोलन थियो, जसमा सबै समुदायले भाग लिए। आदिवासीमा तिलका माझी, बिरसा मुण्डा, लक्ष्मण नायक अनि फूलो झानो जस्ता कैयौं अन्य मानिस थिए, जसको बलिदानको सराहना हालमा भइरहेको छ। हामीले बिरसा मुण्डाको जयन्तीलाई जनजातीय गौरव दिवसका रूपमा मनाउन शुरु गरेका छौं। आगामी वर्ष उनको १५०औं जयन्तीको उत्सव राष्ट्रिय पुनर्जागरणमा उनको योगदान अनि अरू बढी गहिराइका साथ सम्मान दिने अवसर हुनेछ।

मेरा प्यारा देशवासीहरू,

आज १४ अगस्तको दिन हाम्रो देश विभाजनको विभीषिका स्मृति दिवस मनाई रहेका छौं। यो विभाजनको भयावहतालाई याद गर्ने दिन हो। जब हाम्रा महान राष्ट्रको विभाजन भएको थियो, तब लाखौं मानिसले बाध्यतावश पलायन गर्नुपरेको थियो। लाखौं मानिसले आफ्नो ज्यान गुमाउनुपरेको थियो। स्वतन्त्रता दिवसको एकदिन पहिले, हामीले त्यस अभूतपूर्व मानवीय त्रासदीलाई याद गर्दछौं र ती  परिवारका साथ एकजुट भई खडा हुँदछौं, जसलाई छिन्नभिन्न गरिदिएका थिए। हामीले संविधानको ७५औं वर्षगाँठ मनाइरहेका छौं। हाम्रो नव-स्वाधीन राष्ट्रको यात्रामा गम्भीर  बाधाहरू आए। न्याय, समानता, स्वतन्त्रता अनि बन्धुताको संवैधानिक आदर्शमा दृढ रही हामी भारतले विश्व पटलमा आफ्नो गौरवशाली स्थान पुनः प्राप्त गरोस् भन्ने यस अभियानका साथ अघि बढिरहेका छौं।

यस वर्ष हाम्रो देशमा आम चुनाउ सम्पन्न भयो। कूल मतदाताको सङ्ख्या करिब ९७ करोड थियो, जुन एउटा ऐतिहासिक कीर्तिमान हो। मानव समुदाय इतिहासको सबैभन्दा ठूलो चुनाव प्रक्रियाको साक्षी बने। यस प्राकरको विशाल आयोजनलाई सुचारू अनि त्रुटिरहित सञ्चालनका लागि भारतको निर्वाचन आयोग बधाईको योग्य छ। म ती सबै कर्मचारी अनि सुरक्षाकर्मीलाई आभार व्यक्त गर्न चाहन्छु, जसले भीषण गर्मीको सामना गर्दै मतदाताहरूलाई मद्दत गरे। यति ठूलो सङ्ख्यामा मानिसहरूद्वारा मताधिकार प्रयोग गर्नु वस्तुतः लोकतन्त्रको विचारधाराको प्रबल समर्थन हो। भारतद्वारा सफलतापूर्वक चुनाउ आयोजित गर्नुले सम्पूर्ण विश्वमा लोकतान्त्रिक शक्तिले तागत प्राप्त गर्दछ।

मेरा प्यारा देशवासीहरू,

वर्ष २०२१ देखि वर्ष २०२४ बीच ८ प्रतिशतको औसत वार्षिक वृद्धि दर हासिल गरी भारत सबैभन्दा  तेज गतिले बढ्ने अर्थव्यवस्थामा सामेल भएको छ। यसले गर्दा देशवासीहरूको हातमा धेरै पैसा मात्र नआएर गरीबी रेखामुना बसोबासो गर्ने मानिसहरूको संख्यामा पनि भारी कमी आएको छ। जो मानिसहरू अझै पनि गरीबीले पीडित छन्, उनीहरूको सहायता गर्नका साथसाथै उनीहरूलाई गरीबीबाट बाहिर निकाल्नका लागि सबै प्रयास गरिँदैछ। उदाहरणका लागि कोभिड-१९ को शुरुवाती चरणमा आरम्भ गरिएको पीएम गरीब कल्याण अन्न योजना अन्तर्गत करिब ८० करोड मानिसलाई सित्थैमा राशन वितरण गरिँदैछ, जसले हालै गरिबीबाट बाहिर आएकालाई पुनः गरिबीमा जानबाट रोक्नसकियोस् भन्ने सुनिश्चित गर्दछ।

भारत विश्वको पाँचौं सबैभन्दा बृहत् अर्थव्यवस्था बनेको छ र हामी चाँडै विश्वको तीन शीर्षस्थ अर्थव्यवस्थामा स्थान प्राप्त गर्नका लागि तयार छौं भन्ने हामी सबैको निम्ति गर्वको कुरा हो। यो सफलता किसान अनि श्रमिकहरूको अथक मेहनत, नीति निर्माता अनि उद्यमीहरूको दुरगामी सोच तथा देशको दूरदर्शनी नेतृत्त्वको बलमा सम्भव हुनसकेको हो। हाम्रा अन्नदाता किसानहरूले आशा गरिएभन्दा बढी कृषि उत्पादन सुनिश्चित गरेका छन्। यसो गरी उनीहरूले भारतको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन र हाम्रा देशवासीलाई भोजन उपलब्ध गराउन अमूल्य योगदान दिएका छन्। हालैका वर्षमा इन्फ्रास्ट्रक्चरले धेरै बढावा पाएको छ। सुविचारित योजना अनि प्रभावी कार्यान्वयनले सडक अनि राजमार्ग, रेलवे अनि बन्दरगाहको जाल बिछ्याउन मद्दत गरेको छ। भावी प्रौद्योगिकीको अद्भूत क्षमतालाई ध्यानमा राख्दै सरकारले सेमी-कण्डक्टर र आर्टिफिशल इन्टेलिजेन्स जस्ता कैयौं क्षेत्रलाई बढावा दिन विशेष बल दिएको छ, साथै स्टार्टअप्सका लागि एउटा आदर्श  ईको-सिस्टम पनि बनाएको छ, जसबाट यसको विकासले गति पाउनेछ। यसले निवेशकहरूमा भारतप्रति आकर्षण अझ बढेको छ। बढ्दो पारदर्शिताका साथ ब्याङअकिङ अनि वित्तीय क्षेत्रको कार्यकुशलतामा वृद्धि भएको छ। यी सबै परिवर्तनले आगामी समयको आर्थिक सुधार अनि आर्थिक विकासको निम्ति मञ्च तयार गरिदिएको छ, जहाँबाट भारत विकसित देशहरूको श्रेणीमा सामेल हुनेछ।

तेज गतिले भइरहेको नयायपरक प्रगतिको बलमा वैश्विक परिदृश्यमा भारतको कद उच्च भएको छ। जी-२० आफ्नो अध्यक्षतामा सफतापूर्वक सम्पन्न भएपछि भारतले ग्लोबल साउथलाई मुखर अभिव्यक्ति दिने देशका रूपमा आफ्नो भूमिकालाई दह्रो बनाएको छ। भारतले आफ्नो प्रभावशाली स्थितिको उपयोग विश्व शान्ति अनि समृद्धिको विस्तारका लागि गर्न चाहन्छ।

मेरा प्यारा देशवासीहरू,

हामीले संविधान निर्माता डा. बीआर अम्बेडकरको शब्दलाई सधैं याद राख्नुपर्नेछ। उनले ठीकै भनेका थिए र म त्यसलाई उद्घृत गर्न चाहन्छु, “हामीले आफ्नो राजनीतिक लोकतन्त्रलाई सामाजिक लोकतन्त्र पनि बनाउनु पर्नेछ। राजनीतिक लोकतन्त्र तबसम्म टिक्न सक्दैन, जबसम्म त्यसको आधारमा सामाजिक लोकतन्त्र हुँदैन।“ राजनीतिक लोकतन्त्रको निरन्तर प्रगतिले सामाजिक लोकतन्त्रलाई दह्रिलो बनाउने दिशामा गरिएको प्रगतिको पुष्टि गर्दछ। समावेशी भावना, हाम्रो सामाजिक जीवनको हरेक पक्षमा देखिन्छ। आफ्नो विविधता अनि बहुलताका साथ हामी एक राष्ट्रका रूपमा एकजुट भएर, एकसाथ अघि बढिरहेका छौं। समावेशको साधनका रूपमा रचनात्मक कार्वाहीलाई बलियो बनाउनु पर्नेछ। म दृढताका साथ के मान्दछु भने भारत जस्तो विशाल देशमा कथित सामाजिक स्तरका आधारमा कलहलाई बढावा दिने प्रवृत्तिलाई खारेज गर्नुपर्नेछ।

सामाजिक न्याय सरकारको सर्वोच्च प्राथमिकता हो। सरकारले अनुसूचित जाति, अनुसूचित जनजाति अनि समाजको अन्य वञ्चित वर्गको कल्याणका लागि अनेकौं अभूतपूर्व कदम उठाएको छ। उदाहरणका लागि प्रधानमन्त्रा सामाजिक उत्थान एवं रोजगार आधारित जनकल्याण अर्थात् पीएम-सूरजको उद्देश्य वञ्चित जनमानसलाई सीधै वित्तीय सहायता प्रदान गर्नुरहेको छ।  प्रधानमन्त्री जनजाति आदिवासी न्याय महाअभियान अर्थात पीएम जनमनले एउटा जन अभियानको रूप लिएको छ। यस अन्तर्गत विशेष गरी कमजोर जनजातीय समूह, अर्थात पीभीटीजीको सामाजिक आर्थिक  स्थितिमा सुधारको निम्ति निर्णायक कदम उठाइँदैछ। नेशनल एक्शन फर मेकानाइज्ड स्यानिटेशन ईकोसिस्टम अर्थात नमस्ते योजना अन्तर्गत कुनै पनि सफाई कर्मचारीले सीवर वा सेप्टिक ट्यांकीको सफाइको जोखिमपूर्ण काम हातले गर्नु नपर्ने सुनिश्चित गरिँदैछ।

“न्याय” शब्दको सबैभन्दा व्यापक अर्थमा अनेकौं सामाजिक आयाम समाहित छन्। यसमध्ये दुई आयाममाथि विशेष रूपले बल दिन चाहन्छु। ती आयाम हुन्– स्त्री-पुरुषबीच न्यायपूर्ण समानता तथा जलवायु न्याय। हाम्रो समाजमा महिलाहरूलाई समानताको मात्र नभएर समानताभन्दा माथिको दर्जा दिइन्छ। तथापि, उनीहरूले पारम्परिक पूर्वाग्रहको कष्ट पनि झेल्नुपर्दछ। तर मलाई सरकारले महिला कल्याण अनि महिला सशक्तिकरणलाई समान महत्त्व दिएको जानेर खुशी लागेको छ। बितेको दसकमा यस उद्देश्यका साथ बजेट प्रावधानमा तीन गुणाभन्दा धेरै वृद्धि गरिएको छ। श्रम बलमा उनीहरूको भागीदारी बढेको छ। यस सन्दर्भमा जन्मका समय छोरीहरूको अनुपातमा भएको उल्लेखनीय सुधारलाई सबैभन्दा उत्साहजनक विकास भन्नसकिन्छ। महिलाहरूलाई केन्द्रमा राख्दै सरकारद्वारा अनेकौं विशेष योजना पनि लागू गरिएका छन्। नारी शक्ति वन्दन अधिनियमको उद्देश्य महिलाहरूको वास्तविक सशक्तिकरण  सुनिश्चित गर्नुरहेको छ।

जलवायु परिवर्तन एउटा यथार्थको रूप लिइसकेको छ। विकासशील देशहरूका लागि आफ्नो आर्थिक प्रतिमान बद्लिनु अझ बढी चुनौतीपूर्ण छ। तरै पनि हामीले त्यस दिशामा आशाभन्दा धेरै प्रगति गरेका छौं। ग्लोबल वार्मिङको सबैभन्दा गम्भीर कुप्रभावबाट पृथ्वीलाई बचाउनका लागि मानव समुदायले गरिरहेको सङ्घर्षमा अग्रणी भूमिका खेलेकोमा भारतलाई गर्व छ। म तपाईंहरू सबैलाई के अनुरोध गर्न चाहन्छु भने आफ्नो जीवनशैलीमा स-साना तर प्रभावी परिवर्तन गर्नुहोस् तथा जलवायु परिवर्तनको चुनौतीलाई सामना गर्न आफ्नो महत्त्वपूर्ण योगदान दिनुहोस्। न्यायको सन्दर्भमा म के पनि उल्लेख गर्न चाहन्छु भने यस वर्ष जुलाईदेखि भारतीय न्याय संहिता लागू गरी हामीले औपनिवेशिक युगको एउटा अवशेषलाई हटाएका छौं। नयाँ संहिताको उद्देश्य दण्ड दिनु मात्र नभएर अपराध पीडितका लागि न्याय सुनिश्चित गर्नु पनि रहेको छ। म यस परिवर्तनलाई स्वाधीनता सेनानीहरूप्रति श्रद्धाञ्जलिको रूपमा हेर्दछु।

मेरा प्यारा देशवासीहरू,

आजका युवाले हाम्रो स्वतन्त्रताको शताब्दीसम्मको अमृतकाल अर्थात आजदेखि करिब एक चौथाई शताब्दीको कालखण्डलाई स्वरूप प्रदान गर्नेछन्। उनीहरूको ऊर्जा र उत्साहको बलमा हाम्रो देश नयाँ उँचाईसम्म पुग्नेछ। युवाहरूको मन-मस्तिष्कलाई विकसित गर्नु तथा परम्परा अनि समकालीन ज्ञानको सर्वश्रेष्ठ आयाम ग्रहण गर्ने नयाँ मानसिकता निर्माण गर्नु हाम्रो प्राथमिकता हो। यस सन्दर्भमा वर्ष २०२० देखि लागू गरिएको राष्ट्रिय शिक्षा नीतिको परिणाम अघि आइरहेका छन्। युवा प्रतिभाको समुचित उपयोग गर्नका लागि सरकारले कौशल, रोजगार तथा अन्य अवसर सुलभ बनाउने पहल गरेको छ। रोजगार अनि कौशलका लागि प्रधानमन्त्रीको पाँच योजनाको माध्यमद्वारा पाँच वर्षमा चार करोड दश लाख युवाले लाभ पाउनेछन्। सरकारको एउटा नयाँ पहलले पाँच वर्षमा एक करोड युवाले अग्रणी कम्पनीमा इन्टर्नशीप गर्नेछन्। यी सबै कदमले विकसित भारत निर्माणमा आधारभूत योगदान दिनेछ।

भारतमा हामी विज्ञान एवं प्रौद्योगिकीलाई ज्ञानको खोजका साथसाथै मानवीयतापूर्ण प्रगतिको साधनका रूपमा हेर्ने गर्दछौं। उदाहरणका लागि डिजिटल एप्लिकेशनको क्षेत्रमा हाम्रो उपलब्धिको उपयोग अन्य देशमा टेम्प्लेटका रूपमा गरिँदैछ। हालका वर्षमा भारतले अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा अभूतपूर्व प्रगति गरेको छ। तपाईंहरू सबैका साथ म पनि आगामी वर्ष हुने गगनयान मिशनको शुभारम्भको उत्सुकताका साथ प्रतीक्षा गरिरहेकी छु। यस मिशन अन्तर्गत भारतको पहिलो मानव अन्तरिक्ष यानमा भारतीय अन्तरिक्ष टीमलाई अन्तरिक्षमा लगिनेछ।

खेल जगत पनि एउटा यस्तो क्षेत्र हो जसमा हाम्रो देशले बितेको दसकमा धेरै प्रगति गरेको छ। सरकारले खेलको बुनियादी पूर्वाधारको विकासलाई समुचित प्राथमिकता दिएको छ र यसको परिणाम अघि आइरहेका छन्। हालै सम्पन्न पेरिस ओलम्पिक खेलमा भारतीय दलले आफ्नो उत्कृष्ट प्रयास गऱ्यो। म खेलाडीहरूको निष्ठा अनि परिश्रमको सराहना गर्न चाहन्छु। उनीहरूले युवाहरूमा प्रेरणा सञ्चार गरेका छन्। क्रिकेटमा भारतले टी-२० कप जित्यो, जसबाट ठूलो संख्यामा क्रिकेटप्रेमी आनन्दित भए। शतरञ्जमा विलक्षण प्रतिभा भएका खेलाडीहरूले देशलाई गौरवान्वित गरे। यसलाई शतरञ्जमा भारतीय युगको आरम्भ मानिँदैछ। ब्याडमिन्टन, टेनिस र अन्य खेलमा हाम्रा युवा खेलाडीहरूले विश्व मञ्चमा आफ्नो पहिचान बनाइरहेका छन्। उनीहरूको उपलब्धिले भावी पिँढीलाई पनि प्रेरित गरिरहेको छ।

मेरा प्यारा देशवासीहरू,

सम्पूर्ण देश स्वतन्त्रता दिवस मनाउनका लागि तत्पर छ। यस उल्लासपूर्ण अवसरमा म तपाईंहरूलाई एकपटक फेरि बधाई दिन चाहन्छु। म सेनाका ती बहादुर जवानलाई विशेष बधाई दिन चाहन्छु जसले आफ्नो ज्यानको जोखिम उठाउँदै हाम्रो स्वतन्त्रताको रक्षा गर्दछन्। म पुलिस अनि सुरक्षा बलका कर्मीहरूलाई बधाई दिन चाहन्छु, जसले पूरा देशमा सतर्कता कायम राख्दछन्। म न्यायपालिका अनि लोक सेवाका सदस्यहरूका साथसाथै विदेशमा नियुक्त हाम्रा दूतावासका कर्मीहरूलाई पनि आफ्नो शुभकामना दिन चाहन्छु। हाम्रा प्रवासी समुदायलाई पनि मेरो शुभकामना! तपाईंहरू सबै हाम्रो परिवारको अंश हुनुहुन्छ, तपाईंहरूले आफ्नो उपलब्धिद्वारा हामीलाई गौरवान्वित गर्नुभेको छ। तपाईंहरू सबैले विदेशमा भारतको संस्कृति अनि विरासतलाई गर्वका साथ प्रतिनिधित्त्व गर्नुहुन्छ।

एकपटक फेरि, मेरो तर्फबाट सबैलाई स्वाधीनता दिवसको हार्दिक शुभकामना!

धन्यवाद!

जय हिन्द!

जय भारत!                         (पीआईबी)                 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement