खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारीमा भूतपूर्व सैनिकहरूद्वारा गठित कारगिल एनजीओद्वारा कारगिल बिजय दिवस पालन गरिएको छ। भूतपूर्व सैनिकहरूको संगठन कारगिल एनजीओले वार्षिक रुपमा कारगिल बिजय दिवस पालन गर्दै आईरहेका छन् भने आज पनि २६ जुलाईको दिन घैयाबारीमा एक कार्यक्रमबीच कारगिल बिजय दिवस पालन गरिएको छ। उक्त कार्यक्रमको अध्यक्षता कारगिल एनजीओको सभापति सुवाङ्ग सुब्बाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा भूतपूर्व लेफ्टिनेन्ट जीवन सिंह गुरुङ अनि विशिष्ट अतिथिको रूपमा कारगिल युध्द लडेका महानदी निवासी भूतपूर्व सुबेदार मेजर कृष्ण प्रधान उपस्थित रहेका थिए। जयराज थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण कारगिल एनजीओको उपाध्यक्ष हेमराज गुरुङले राखेका थिए। कार्यक्रमको शुरुमा केही दिन अघि शहीद भएका कप्तान ब्रिजेस थापालाई श्रध्दाञ्जली अर्पण गरिएको थियो भने कारगिल युध्दमा शहीद भएका भारतीय शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै धुप दीप प्रज्वलन साथै मैनबत्ती बालेर फूलहरू अर्पण गरी श्रध्दाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा जयराज थापा र अर्जुन योञ्जनले शहीदहरूलाई समर्पण गर्दै कविता वाचन गरेका थिए। त्यसरी नै कार्यक्रममा कारगिल दिवस विषयमा प्रमुख अतिथि भूतपूर्व लेफ्टिनेन्ट जीवन सिंह गुरुङ, विशिष्ठ अतिथि भूतपूर्व सुबेदार मेजर कृष्ण प्रधान, कारगिल एनजीओको कोषाध्यक्ष एंव भूतपूर्व सैनिक मणिकुमार छेत्री, सकिला राई, भूतपूर्व सुबेदार मेजर सागर प्रधान, कार्यकारी सचिव देवपाल लामा, समाजसेवी उत्तम शर्मा आदिले वक्तव्य राखेका थिए। वक्ताहरूले आफ्नो वक्तव्यमा कारगिल बिजय दिवस साथै कारगिल युध्दमा भारतीय गोर्खा सेनाहरूको योगदान र शहीदहरू विषयमा जानकारी गराएका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन कारगिल एनजीओको मुख्य सल्लाहकार रमेश प्रधानले राखेका थिए। उल्लेख्य छ ३ मई १९९९ देखि २६ मई १९९९ सम्म कारगिलमा भारत र पाकिस्तानमाझ युध्द भएको थियो अनि भारतले २६ जुलाईको दिन भारतले बिजय दिवसको रूपमा पालन गर्ने गरेको छ। यसपाली कारगिल बिजय दिवसको २५औं वर्ष पुगेको कारणले यसपाली रजत जयन्तीको रूपमा पालन गरिरहेको छ। यस करगिल बिजय दिवस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै अवकाशप्राप्त सुबेदार मेजर कृष्ण प्रधानले आफु पनि सन् १९९९ को कारगिल युध्दमा सामेल भएर युध्द लडेको बताउँदै २६ जुलाई १९९९ मा भारतले पाकिस्तानमाथि बिजय हाँसिल गरेको दिनमा पनि आफु भारतीय सेनाको रूपमा रहेको र आफु त्यसताक भएको कारगिल युध्दमा ३४ वर्षको थिए भनी जानकारी गराएका छन्। त्यसरी नै कारगिल बिजय दिवस पालन गरिएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै कारगिल एनजीओको कोषाध्यक्ष एंव भूतपूर्व सैनिक मणिकुमार छेत्रीले कारगिल एनजीओ भूतपूर्व सैनिकहरूके संगठन रहेको र यसले गत वर्ष पनि कारगिल बिजय दिवस पालन गरेको र यसपाली पनि कारगिल युध्दमा भारतले पाकिस्ताममाथि बिजय हाँसिल गरेको दिनलाई पालन गर्दै कारगिल बिजय दिवस मनाएको साथै भारतीय गोर्खा सेनाहरूको कारगिल युध्दमा रहेको योगदान विषयमा जानकारी गराएका छन्। उनले कारगिल एनजीओले गर्दै आईरहेका विभिन्न सामाजिक कार्यहरू विषयमा पनि जानकारी गराएका छन्। उल्लेखनीय छ घैयाबारी क्षेत्रबाट पनि कारगिल युध्दमा तीनजना सहभागी बनेको जानकारी प्राप्त भएको छ। घैयाबारीबाट कारगिल युध्दमा युध्द लडेका भारतीय सेनाका गोर्खा जवानहरूमा अंगु राई, अमल राई र स्व. बिगेन छेत्री रहेको जानकारी प्राप्त भएको छ।










