गोर्खा सांस्कृतिक संस्थान खरसाङद्वारा शहीद कप्तान बृजेश थापालाई नमन श्रद्धाञ्जली

IMG-20240716-WA0152

खरसाङ: गोर्खा सांस्कृतिक संस्थान खरसाङद्वारा देशको रक्षाक लागि शहीद बनेका गोर्खा सपुत कप्तान बृजेश थापालाई नमन एंव श्रद्धाञ्जली अर्पण गरिएको छ। गोर्खा सांस्कृतिक संस्थान खरसाङको अध्यक्षा आशा मुखिया लामाले एक प्रेस विज्ञप्ति जारी गर्दै शहीद थापालाई नमन अनि श्रध्दाञ्जली अर्पण गरेका छन्। उनले विज्ञप्तिमा भनेका छन् – ‘कति दुख्दो छ मन, कति रुँदो छ छाती, आज फेरि पनि देशको सिमाना जब जब अशान्त बन्छ, तब तब भारतीय गोर्खाहरुको मनमा अशान्तिले डेरा जन्माउँछ, किनभने हामी निश्चित हुन्छौँ हाम्रा गोर्खे वीर सन्तानहरू भारतमाताको सुरक्षार्थ त्यहाँ सिमानामा सँधैभरि तैनात हुन्छन् र छन् भनेर। सारा देश लगायत तपाईं हाम्रो गहिरो निद्रा र सपनामा बिथोल नपरोस् भनी शत्रुको निशाना साँधेर दिन रात, आँधी तुफान, बर्खाझरी केही नभनी देशप्रति समर्पित कोही न कोही वीर गोर्खा निश्चय जाग्रत हुन्छन् सिमानामा हरेक दिन। यस्तो क्रममा यसरी नै गोर्खा सपुतहरूले सिमानामा वीरगति प्राप्त नगरेको कुनै वर्ष छैन, कुनै युद्ध छैन, कुनै षड़यन्त्रकारी हमला छैन। आमाहरूका मुटुका टुक्रा, बाबुका शान, दिदीबहिनीका गौरवशाली माइती, समाजका होनहार छोराहरू हामी गुमाई रहन्छौँ, कतिको सिन्दुर पुछिरहन्छ एक एक गरी, अनि यता भने हामी भारतीय गोर्खाहरु पटक पटक विदेशी बनिरहन्छौँ।’
गोर्खा सांस्कृतिक संस्थान खरसाङको अध्यक्षा आशा मुखिया लामाले आफ्नो विज्ञप्तिमा अघि भनेका छन् – ‘सेनामा भर्ना भएर कप्तान, मेजरसम्मको ओहदामा पुग्नको निम्ति कतिको परिश्रम र मेहनतको आवश्यकता पर्दछ त्यो सर्वसाधारणको निम्ति पनि जानेको सुनेको सत्य हो। आज हेर्नोस् दार्जिलिङ पहाडको छाती फेरि चिरिएको छ, आज फेरि हाम्रा हिमाली वीर छोरा तिरङ्गामा लपेटिएर घर फर्किरहेका छन्। अवकाशप्राप्त कर्नेल भुवनेश्वर थापाका होनहार सुपुत्र कप्तान बृजेश थापाले 2019 मा मात्र आफ्ना असंख्य सपना, कल्पना, उमङ्ग र उत्कर्षहरू लिएर सेनामा प्रविष्ट भएका थिए। लाउँ-लाउँ खाउँ-खाउँको उमेर, देशप्रतिको स्वच्छ भक्ति र समर्पण लिएर १४५ आर्मी एयर डिफेन्समा कार्यरत योद्धा कप्तान बृजेश थापालाई राष्ट्रीय राइफल्स एक्स्ट्रा रेजिमेन्टलमा कार्यभार प्राप्त भएको थियो। आज उनै कप्तान बृजेश थापा लगायत जवान नायक डी. राजेश, सिपाही बिजेन्द्र, अनि अजय सिंह काश्मिरको डोडा जंगलमा आतङ्ककारी शत्रुहरूसित युद्ध गर्दा गर्दै घाइते भएपछि देशको सुरक्षामा वीरगति प्राप्त गरेर शहीद बनेका छन्।’
उनले अझ भनिन् -‘धन्य हौ कप्तान बृजेश थापा, नायक डी. राजेश, सिपाही बिजेन्द्र, अनि अजय सिंह हजुरहरूलाई शत:शत: नमन:, हार्दिक श्रद्धासुमन, कोटी कोटी प्रणाम सहित जय हिन्द । कप्तान बृजेश थापा हजुर हरेक गोर्खाको मुटुमा सदैव बाँचिरहनु हुनेछ। भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं।’
उनले जानकारी दिए अनुसार शहीद कप्तान बृजेस थापाको अन्तिम संस्कारमा दार्जिलिङको गिङ्ग कमानस्थित उनको पैतृक गाउँमा गोर्खा सांस्कृतिक संस्थान खरसाङको पदाधिकारीहहरू पनि सहभागी हुनेछन्।

About Author

Advertisement