अखिल सिक्किम खस छेत्री बाहुन कल्याण सङ्घले समुदायका निर्वाचित जनप्रतिनिधिहरूलाई जनायो अभिनन्दन

IMG-20240707-WA0269

गान्तोक: अखिल सिक्किम खस छेत्री बाहुन कल्याण सङ्घको तत्वावधानमा आज राजधानीमा खस गौरव सङ्गम कार्यक्रम आयोजना गरियो। कार्यक्रमको उद्देश्य हालैको ११औं विधानसभा चुनाउमा विजयी बनेर विधायक अनि मन्त्री बनेका छेत्री-बाहुन समुदायका जनप्रतिनिधिहरूलाई अभिनन्दन जनाउनु रहेको थियो। अभिनन्दित हुने जनप्रतिनिधिहरूमा ग्रामीण विकास मन्त्री अरुण कुमार उप्रेती, स्वास्थ्य मन्त्री जीटी ढुङ्गेल, सड़क एवं पुल मन्त्री नरबहादुर दाहार, शिक्षा मन्त्री राजु बस्नेत र विधायक तथा जनस्वास्थ्य अभियान्तिकी मन्त्री विभागका सल्लाहकार लोकनाथ नेपाल रहेका छन्। कतिपय कारणवश विधायकद्वय बीएस पन्त र सञ्जित खरेलले भने कार्यक्रममा उपस्थिति जनाउन सकेनन्।

खस छेत्री-बाहुन समुदायका विभिन्न तह र तप्काका प्रतिनिधिहरूको उपस्थिति रहेको खस गौरव सङ्गम कार्यक्रमलाई सिक्किम सरकारका पूर्व सचिव तथा वरिष्ट साहित्यकार केएन शर्माले अध्यक्षता गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै अखिल सिक्किम खस छेत्री बाहुन कल्याण सङ्घका अध्यक्ष नारायण खतिवड़ाले आजको कार्यक्रम आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पारे। आफ्नो सम्बोधनको क्रममा उनले खस छेत्री-बाहुन समुदायलाई सकेसम्म जनजातिको मान्यता नत्र केन्द्रीय अन्य पछौटे वर्ग (सेन्ट्रल ओबीसी) मा अन्तरभुक्त गर्ने दिशामा पहल गरिनुपर्ने कुरामा जोर दिए। यसको साथै उनले अखिल सिक्किम खस छेत्री बाहुन कल्याण सङ्घले अहिलेसम्म गरेका कामहरूमाथि पनि प्रकाश पारे। कार्यक्रम अवधि राजधानीमा प्रस्तावित खस भवन बारे पनि चर्चा गरियो।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सबै मन्त्री अनि विधायकले राज्यका खस छेत्री-बाहुन साथै सबै समुदायको निम्ति काम गर्ने प्रतिवद्धता जाहेर गरे। यसको साथै सबैले सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष तथा मुख्यमन्त्री प्रेम सिंह तामाङलाई आफूहरूमाथि गरेको विश्वास र सहयोगको निम्ति आभार पनि व्यक्त गरे।

About Author

Advertisement