गान्तोक: धर्तीमातालाई एक दिन कार्यक्रम अन्तर्गत आज सिक्किम व्लुसम संघको पहलमा बुलबले नर्सरीदेखि गणेश टकसम्म विभिन्न प्रजातिको विरूवा रोपियो। यस अवसरमा कावि लुङचोक निर्वाचन क्षेत्रका विधायक टीटी भोटिया मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। पत्रकारहरूलाई सम्बोधन गर्दै विधायक भोटियाले वर्तमान सरकारले पर्यावरण संरक्षण हेतु विभिन्न प्रकारको योजना शुरू गरेको र यस योजना अन्तर्गत राज्यको सबै स्थानहरूलमा विभिन्न प्रजातिको विरूवा रोपिने कार्य सञ्चालन भइरहेको जानकारी गराए। सिक्किम एक पहाडी राज्य भएको कारण प्राकृतिकरूपमा यो धेरै सुन्दर रहेको र यसको आन्नद लिन देश विदेशबाट प्रतिदिन पर्यटकहरू सिक्किम घुम्न आउने गरेको बताए। यसलाई अझ सुन्दर र पर्यटकहरूलाई आकर्षित तुल्याउने उद्देश्यले राज्यको विभिन्न सडकमा फूलको विरूला रोपिने कार्य आज सम्पन्न भएको विधायकले जानकारी गराए। यसै क्रममा आयोजक समितिका सदस्य एना लामाले संस्थाले केही वर्षदेखि यता राज्यको विभिन्न जिल्लामा पुगेर विरूवा रोप्ने काम गर्दै आइरहेको जानकारी गराइन्। उनले थप बताए अनुसार यस प्रकारको कार्य आगामी अगस्त महिनासम्म संस्थाले निरन्तर जारी राख्ने र संस्थाले लिएको लक्ष्यलाई पुरा गर्न अहिले गान्तोक जिल्लालाई ध्यान केन्द्रित गरिएको बताइन्। हाल यस संस्थामा 80 भन्दा अधिक सदस्यहरू सामेल रहेको र प्रति वर्ष नै संस्थामा सदस्यहरूको संख्यामा वृद्धि हुँदै गइरहेको उनले दावी गरेकी छन्। यस संस्थाले गान्तोक जिल्लाको विभिन्न स्थानमा विरूवा रोपेर सडकलाई सुन्दर बनाउने प्रतिवद्धताको साथमा काम गरिरहेको उनको भनाइ रहेको छ। उनीहरूलाई प्रत्येक वर्ष वन विभागले विरूवा प्रदान गरेको र यसको सदुपयोग गर्न संस्थाले कुनै कसर बाँकी नराखेको उनले मन्तव्य प्रकट गरेकी छन्।