बिराटनगर: ओखलढुंगाको सिद्धिचरण नगरपालिका १२ को जिसस टोल नजिकै पहिरो जाँदा २ जना आमाछोरी घाइते भएका छन्। हिजो ६जुलाई दिउँसो ३:४५ बजेको समयमा एन्जल/ईशा होटल रहेको टहरो पहिरोले बगाउँदा पसल सञ्चालक ३५ वर्षीय इन्दिरा गिरी र १३ वर्षीय उनकी छोरी लक्ष्मी विष्ट घाइते भएका हुन्। घटनालगत्तै घाइतेहरूलाई उद्दार गरी ओखलढुंगा सामुदायिक अस्पताल लगिएको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। सडकमा झरेको पहिरो सिद्धिचरण नगरपालिकाको जेसीबीले हटाउने क्रम जारी छ। पहिरोमा पुरिएको टहरो र सामानहरू नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय वासिन्दालगायतले झिकेर सुरक्षित गर्ने काम गरिरहेका छन्।










