गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले अन्तरराष्ट्रिय योग दिवसको अवसरमा सम्पूर्णप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री तामाङले आज जारी आफ्नो सन्देशमा भनेका छन्, योग भारतको पुरातन परम्पराहरूबाट एक अमूल्य उपहार हो, जुन हाम्रो आफ्नै घरहरूमा सजिलै अभ्यास गर्न सकिन्छ।
यसमा हामीलाई प्राकृतिक रूपमा स्वस्थ र कायाकल्प राख्ने विभिन्न प्रविधिहरू समावेश छ। यसले शरीर, दिमाग र आत्मालाई जोड्ने, मानसिक सन्तुलन कायम गर्न र तनाव कम गर्नको लागि सरल तरिका प्रदान गर्दछ। यो वर्ष ‘आफ्नो र समाजका लागि योग’ भन्ने नाराका साथ हामी १०औँ अन्तरराष्ट्रिय योग दिवस मनाउँदै छौँ।
मुख्यमन्त्रीले देशका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा योगलाई विश्वव्यापी मान्यता दिलाउन गरिएका पहलको सराहना गर्दै बधाई दिएका छन्, जसलाई २०१४ मा संयुक्त राष्ट्र महासभाले समर्थन दिएको थियो। उनले योग र प्राकृतिक चिकित्साको बारेमा प्रधानमन्त्रीबाट प्राप्त उत्साहवर्धक सन्देशको निम्ति आभार व्यक्त गरेका छन्। प्रधानमन्त्रीले दैनिक जीवनमा कोदो सेवनको महत्व र यसको उत्पादनको प्रवर्धनबारे पनि बताएको मुख्यमन्त्रीले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले यस विशेष दिनमा आफ्नो जीवनमा सकारात्मक परिवर्तन अनुभव गर्न सबैलाई आफ्नो दैनिक जीवनमा योगलाई सामेल गर्न प्रोत्साहन प्रदान गरेका छन्।








