कालचिनी। गत एक डेढ़ महीना अघि मात्र आफ्नो स्वास्नी र एउटा बच्चा साथमा लिएर देहरादूनमा काम गर्न गएको राजाभातखावा नयाँ बस्ती निवासी मृत नान्टु रायको पार्थिव शरीर अन्ततः आज विहान घरमा ल्याई पुऱ्याउँदा घरको सदस्यहरु डाँको छोड़ेर रोएको थियो।
२५ बर्षीय युवक नान्टु रायलाई आमा रञ्जना रायले काम खोज्न बाहिर नजाने सल्लाह दिँदा पनि आमाको कुरा अमान्य गर्दै गएकोले आज यस्तो घटना भएको गाउँलेहरुले जनाएका छन।
पारिवारिक सुत्रबाट थाह लागे अनुसार नान्टु राय देहरादूनको कुनै एउटा बिल्डिङ निर्माण कार्यमा मिस्त्री काममा लागेको थियो भने गत सोमबारको दिन चारतले बिल्डिङमा काम गर्दागर्दै अचानक माथिबाट भूँईमा खस्दा उपचारको क्रममा नान्टु रायको मृत्यु भएको थियो।
यता यसरी जवान अनि भर्खरै विवाह गरेको छोराको लाश हेर्न परेको र गत १४ महीना अघि मात्र लोग्ने सुभाष रायको मृत्यु एउटा अटो दुर्घटनामा भएको विलाप मृतक नान्टु रायको आमा रञ्जना रायले पोखेकी छन।
आज गाउँले सबै मिलेर मृतक नान्टु रायको अन्तिम संस्कार राजाभातखावा स्थित चैतन्य झोड़ा श्मशान घाटमा गरिएको राजाभातखावाका समाजसेवी पार्थ प्रतिम दत्ताले जनाएका छन।










