बुढ़ानिलकंठ (काठमांडू): धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि आगामी कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ। नवंबर ८ देखि अप्रिल १०सम्म पाँच महिना राति १० बजेपछि बिहान ८ बजेसम्म उडान बन्द हुने भएको हो।
नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा जारी निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएकाले उडान बन्द गर्न लागिएको सूचना जारी गरेको छ। अहिले त्रिभुवन विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको छ। ‘काठमाडौं विमानस्थलको धावनमार्ग र त्यससँग जोडिएको ट्याक्सी–वे प्रणालीका विभिन्न निर्माण गतिविधिहरू सञ्चालन गर्नुपर्ने भएकाले विमानस्थल सञ्चालन अवधि घटाइनेछ,’ अन्तर्राष्ट्रिय उड्डयनसम्बन्धी नियमअनुसार प्राधिकरणद्वारा जारी एआईपीमा उल्लेख गरिएको छ।
विमानस्थलभित्र पूर्वाधारमा कार्यरत ‘हवाई यातायात क्षमता अभिवृद्धि आयोजना’ का निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठका अनुसार सूचना प्रकाशित भएसँगै अब अन्तर्राष्ट्रिय वायुसेवाले आफ्ना उडानको समय तालिका फेरबदल गर्नुपर्छ। यसैका आधारमा वायुसेवाहरूले जारी भइसकेका टिकटको उडान समय फेरबदल भइसकेको जानकारी यात्रुहरूलाई दिनुपर्छ। यो अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) द्वारा जारी नियम हो।
प्राधिकरणका अनुसार उक्त अवधिमा तीन निर्माण व्यवसायीले धावनमार्गको उतर–दक्षिणतर्फ जोडिएका चारवटा ट्याक्सी–वे भत्काउने, पुनर्निर्माण गर्ने, धावनमार्गसँग जोड्ने, स्तरोन्नति गर्ने, नयाँ एप्रोनसँग जोड्नेलगायत काम गर्नेछन्। विमानस्थलको गुरुयोजनाअनुसार स्तरोन्नतिका लागि हाल १५ अर्ब रुपैयाँ लागतमा तीनवटा फरक–फरक विदेशी निर्माण व्यवसायीहरूले काम गर्दै आएका छन्। त्रिभुवन विमानस्थलको एक मात्र धावनमार्गको दुवै बिन्दुमा भइरहेको निर्माण कार्यका कारण अप्रिल १ देखि बौद्धतर्फको उत्तरी बिन्दुबाट जहाज अवतरणमा पनि निषेध गरिएको छ।