चियाबारी श्रमिकको छोरा मोहित भुजेलको सपना साकार पार्नलाई नेपाल आईडलको मञ्चमा जिताउन सहयोगको अपिल

IMG-20240604-WA0248.jpg

खरसाङ: चियाबारीमा श्रमिक काम गर्ने एकजना श्रमिकको छोरा मोहित भुजेल हालमा नेपाल आईडलको मञ्चमा पुगेका छन्। चियाबारीको छोरो मोहित भुजेल सानैदेखि गीत गाउनमा खप्पिस थिए तर कुनै गत्तिलो मञ्च थिएन। उनले विद्यार्थी जीवनमा नै मुना मदन सांगीतिक गीति नाटकमा मदनको भूमिका निभाएर कला क्षेत्रमा प्रवेस गरेका थिए भने तीनधारे महानदी समष्टि स्तरीय स्वर लहर प्रतिभाको खोज गायन प्रतियोगिता सिजन दुईको विजेता बनेपछि गायकको रूपमा अघि आएर उनको सांगीतिक यात्राको शुरुवात् भएको थियो। घरमा विभिन्न दु:ख कष्ट र समस्या रहे पनि सांगीतिक क्षेत्रमा केही गर्छु भनेर लगातार अघि बढिरहेका मोहित भुजेल हालमा आफ्नो सपना पूरा गर्न नेपाल मञ्चमा पुगेका छन्। खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटार चियाबारी निवासी पिता मिलन भुजेल अनि माता चन्द्रिका भुजेलको सुपुत्र मोहित भुजेलले हालमा नेपाल आईडलको मञ्चमा पुगेर सम्पूर्ण दार्जिलिङ पहाड़लाई नै प्रतिनिधित्व गर्दै आफ्नो उत्कृष्ट प्रस्तुति दिईरहेका छन्। उनी भोटिङ राउण्ड पुगेपछि लगातार भोटिङमा सबैको साथ, माया, सहयोग र आशिर्वादको कारणले जित्दै अघि बढिरहेका छन्। मोहित भुजेलको जादुमय स्वरमा नेपाल आईडलको मञ्चमा सबैलाई मोहित बनाईरहेका छन्। तर अघि बढ्नलाई मोहितको मात्र प्रयासले हुँदैन। सबैको माया, साथ, सहयोग र आशिर्वाद चाहिन्छ नै। नेपाल आईडलको मञ्चमा जिताउन मोहितको परिवारले मात्र अघि लान सक्दैनन्। मोहितको माता चन्द्रिका भुजेल चियाबारीमा चियापत्ती टिप्छन्। श्रमिक काम गर्छन्। श्रमिक कामले कमाएको पैसाले नेपाल आईडलको मञ्चमा छोरालाई भोट गर्न जतिसक्दो प्रयास गरिरहेका छन्। उनका मातालाई उनका चियाबारी श्रमिक साथीहरूले पनि साथ दिईरहेका छन्। त्यसरी नै उनका पिता मिलन भुजेल दूध व्यवसाय गर्छन्। दुईवटा दुहुना गाई पालेर घर चलाउँछन्। दुध बिक्री गर्न प्रत्येक बिहान सिविटारदेखि महानदी, घुम्ती चियाबारीको विभिन्न स्थानहरूको घर घर पुग्छन्। त्यही दु:ख गरेर कमाएको अाय स्रोतले नै छोरा मोहितलाई नेपाल आईडलको मञ्चमा जिताउन लागि परेका छन्। उनको मेहनत र परिश्रमलाई हैसेमा होस्टेको आवश्यकता देखिएको छ। गाई पालन गरी अरूको घर घरमा पुगेर दुध बेचेर कड़ा मेहनत गर्ने मोहितको पिता अनि चियाबारीमा घाम पानी र पसिना नभनी दु:ख-कष्ट गरेर काम गरिरहेका माताले पनि छोराले बिजय प्राप्त गर्ने आशा साँचेर बसेका छन्। त्यसर्थ चियाबारी श्रमिकको छोरा मोहित भुजेललाई नेपाल आईडलको मञ्चमा जिताउन सबै सबैले सहयोग गर्न आवश्यक देखिएको छ। मोहितले जित्नु भनेको एउटा गरीबको छोरा र एउटा चियाबारी श्रमिकको छोराले देखेको सपना पनि पूरा हुन्छ भन्ने प्रमाणित हुँदछ। यसबाट मोहित जस्तै चियाबारी श्रमिकको अन्य प्रतिभाशाली नानीहरूले पनि प्रेरणा पाउन सक्छन्। सबैको माया, आशिर्वाद, साथ र सहयोग पाईरहेको खण्डमा नेपाल आईडलको उपाधि जितेर दार्जिलिङ पहाड़ साथै तपाई- हामी सबै र नेपाली गोर्खा जातिलाई नै गौरान्वित बनाउनेछन् भन्ने कुरामा आशा गर्न सकिन्छ। गाई पालन र दुध व्यवसाय गर्ने मोहित भुजेलको पिता मिलन भुजेल र चियाबारीमा श्रमिक काम गर्ने माता चन्द्रिका भुजेलले आफ्नो छोराको सपना पूरा गर्नलाई सबै सबैलाई भोटको लागि सहयोग गरिदिने निवेदन गरेका छन्। दुवैले छोरा मोहितलाई जिताउन भोट गरिदिने र भोटको लागि सहयोग गरिदिने सबैलाई अपिल गरेका छन्।

About Author

Advertisement