९ अगस्तः खरसाङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (केडीएचएसए)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट २०२२-को पहिलो दिन मंगलवार दुईवटा म्याच खेलियो। आज भएको पहिलो म्याच रोमाञ्चक रह्यो, जसमा खरसाङ लीग च्याम्पियन युनाइटेड दिलारामले नयाँ बस्ती एफसी-लाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट राजीव प्रधान, दिवस छेत्री र विशान्त राईले गोल गरे। यसरी नै नयाँ बस्ती एफसी-बाट भालाप लेप्चा र सुजल राईले गोल गरे। दोस्रो म्याचमा गोथल्स साइडिंग युथ क्लबले चैतेपानी एफसी-लाई ८-२-ले पिट्यो।विजेता टीमबाट यानदेन लामा र लाक्पा शेर्पाले २-२ गोल गरे। यसबाहेक एल लेप्चा, अमिर तामाङ, रिग्देन तामाङ र सुमिरन प्रधानले १-१ गोल गरे। चैतेपानी एफसी-बाट अभिनय छेत्री र तेञ्जिंग भूटियाले गोल गरे। टुर्नामेण्टमा जम्मा ८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच १२ अगस्तमा खेलिनेछ। फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। विजेता टीमलाई प्रदान गरिने ट्रफी १९६०-मा बनाइएको हो। विशुद्ध चाँदीले बनिएको ट्रफीको ओजन १.५ किग्रा रहेको छ।











