नाम्ची: आज आजादीको अमृत महत्सव पालन गर्दै नाम्ची जिल्लाअन्तर्गत मणिराम-फालिडाँडा जीपीयूको ग्राम प्रशासन केन्द्रमा विशेष ग्राम सभा सम्पन्न भयो। यस अवसरमा पूर्व पञ्चायत उपाध्यक्ष पीएन प्रधानको बाहुलीबाट पञ्चायति राज दर्पणको पनि उद्घाटन गरियो।
उल्लेखनीय छ, उक्त पञ्चायति राज दर्पणमा मणिराम -फालिडाँडा जीपीयूका पूर्व र वर्तमान पञ्चायतगणका फोटो र उनीहरूले प्रयोग गरेका स्ट्याम्पहरू संग्रह गरिएका छन्। यस प्रकारको संग्रहालय पञ्चायतगणले निर्माण गरेको देशको नै प्रथम संग्रहालय भनी ठहर गरिएको छ। यस क्रममा स्थानीय राष्ट्रिय फुटबल खेलाडी निमा शेर्पा, गायक-संगीतकार जीवन मोथे र विद्यावारिधी गरिरहेका विद्यार्थी समीर तामाङलाई अभिनन्दन गरियो।
कार्यक्रममा सम्बोधन गर्दै पञ्चायत सदस्य तोब्दा भोटियाले पञ्चायति राज प्रणाली विषय कुरा राखे। स्थानीय पञ्चायतगणले गरेका कार्यहरूको जानकारी गराउँदै उनले पञ्चायतगणले पूर्वाधार विकासलाई मात्र ध्यान नदिएर शैक्षिक विकासको क्षेत्रमा पनि कामहरू गर्नु पर्ने बताए। कार्यक्रममा स्थानीय सरकारी स्कूलहरू, डिस्पेन्सरी र साई मन्दिरलाई पञ्चायतगणले जीपीडीपीअन्तर्गत दुई हजार लिटरको पानी ट्याङ्की पनि प्रदान गरे।
कार्यक्रममा मणिराम माध्यमिक स्कूलका प्रधान अध्यापक एलपी प्रधान, पूर्व जिल्ला पञ्चायत उपाध्यक्ष हिमाल तामाङ, जिल्ला पञ्चायत सदस्य वर्षा मंगर, लाइन विभागका अधिकारीगण, पूर्व पञ्चायतगण आदिको उपस्थिति रहेको थियो।











