९ अगस्तः नेताजी युथ क्लब (एन.वाई.सी.), सेभोकको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको पहिलो सेमिफाइनलमा डामडिम इलेभेनले रोमाञ्चक जीत हासिल गऱ्यो। सेभोक प्राइमरी स्कूल मैदानमा मङ्गलवार भएको म्याचमा डामडिम इलेभेनले कालीझोड़ा युवा परिवारलाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। विजेता टीमका गोलकीपर बाबाईलाई प्लेयर अव् द म्याच चयन गरियो।

टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ। यस इलेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा देश लामाले बताएका छन्।










