ग्वालियर: कमलनाथ सरकारमा मन्त्री रहेका वैराग्य नन्द गिरी महाराज उर्फ मिर्ची बाबा बलात्कारको आरोपमा पक्रा परेका छन्। सोमबार बिहान भोपाल पुलिसको टोली ग्वालियर पुगेको थियो, जहाँ ग्वालियर अपराध शाखाको टोलीसँगै बाबालाई होटलबाट पक्राउ गरियो। मिर्ची बाबाविरुद्ध भोपालको महिला पुलिस थानामा बलात्कारको मुद्दा दर्ता भएको छ। मिर्चीले सन्तान जन्माउने बहानामा नशालु चक्की खुवाएर बलात्कार गरेको पीडित महिलाले आरोप लगाएकी छिन्। यसै सन्दर्भमा आरोपी मिर्ची बाबालाई पक्राउ गर्न भोपाल पुलिसको टोली गएराति ग्वालियर पुगेको थियो, जहाँ बाबालाई हिजो बिहान होटलबाट पक्राउ गरियो। पीडित महिला रायसेन निवासी भएको बताइएको छ। उनले पुलिसलाई उजुरीमा आफू विवाह गरेको चार वर्ष भइसकेको बताएकी छिन्। उनको सन्तान छैन, उनी निःसन्तान छिन्, त्यसैले मिर्ची बाबाको सम्पर्कमा आएकी थिइन्। बाबाले पूजा गरेपछि सन्तान भएको दाबी गरे। उपचारको नाममा बोलाएर चक्की खुवाएर बलात्कार गरेको आरोप छ।
वैराग्यानन्द गिरी महाराज उर्फ मिर्ची बाबा २०१९ को लोकसभा चुनावमा चर्चामा आए जब उनले कांग्रेस उम्मेदवार दिग्विजय सिंहको जित सुनिश्चित गर्न पाँच क्विन्टल रातो खोर्सानीको हवन गरे र दावी गरे कि यदि दिग्विजय सिंहले चुनाव जितेनन् भने त्यसैको भोलिपल्ट समाधि लिनेछन्। तर चुनाव परिणाम भाजपा उम्मेदवार साध्वी प्रज्ञा सिंह ठाकुर विजयी भएकी छिन्। त्यसपछि मिर्ची बाबाको जलसमाधी बारे प्रश्न उठ्यो। यसपछि खोर्सानी कथा गायब भएको थियो।










