गान्तोक: आगामी १९ अप्रेलमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउ विषयमा पोस्टल व्यालेटको निम्ति छनौट गरिएका पोलिङ अफिसरहरूलाई लिएर अन्तिम चरणको प्रशिक्षण कार्यक्रम बुर्तुकस्थित एससीइआरटीको प्रेक्षागृहमा सम्पन्न भयो। यस प्रशिक्षण कार्यक्रममा अतिरिक्त जिल्लापाल रोहन अगवाने, महकुमा अधिकारी (मुख्यालय) जीएल मिना, महकुमा अधिकारी सुरेश राई लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल रोहन अगवानेले सुविधा केन्द्र र डाक मतदान केन्द्रमा डाक मतपत्रको प्रक्रियाको बारेमा विस्तृतरूपमा जानकारी गराए। उनले सहजीकरण केन्द्रको संरचना र चुनाउको दिनको भूमिकाबारे पनि अवगत गराए। उनले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा यसबारेमा जानकारी गराका हुन्।
राज्य चुनाउ आयोगका अतिरिक्त निर्देशक सम्देश मोक्तानले आगामी चुनाउका लागि डाक मतपत्र मतदान प्रक्रियामा आवश्यक ज्ञान र अन्तरदृष्टि प्रदान गर्ने उद्देश्यले मतदान अधिकृतहरूलाई सैद्धान्तिक र व्यवहारिकपक्षबारे अवगत गराए।










