झटपट क्रिकेटको ‘ब्लकबस्टर शो’ आईपीएल २०२४ शुक्रवारदेखि

IMG-20240321-WA0183.jpg

चेन्नई: विश्वभरिका करोड़ौं क्रिकेटप्रेमीहरूका प्रतीक्षाक समय समाप्त भएको छ। अब इण्डियाको उत्सव शुरु हुन गइरहेको छ। इण्डियन प्रीमियर लीग (आईपीएल)-को १७औं संस्करण शुक्रवारदेखि शुरु हुनेछ। यहाँको एमए चिदम्बरम स्टेडियममा गत विजेता चेन्नई सुपर किंग्स (सीएसके) र रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-बीच म्याचको साथ आईपीएल २०२४ शुरु हुनेछ, जुन ६६ दिनसम्म चल्नेछ। परम्परादेखि बाहिर निस्किएर यसपाली उद्घाटन म्याच गत सीजनको च्याम्पियन र रनरअप टीमबीच नभएर साउथ इण्डियाको दुई शक्तिशाली टीमबीच हुनेछ। एमएस धोनीको चेन्नई सुपर किंग्स समक्ष विराट कोहलीको आरसीबी रहनेछ। यस लोकप्रिय टी२० लीगको फाइनल २६ मईमा हुनेछ अनि त्यसको लगत्तै ५ दिनपछि यूएसए र वेष्ट इण्डिजमा टी२० वर्ल्ड कप शुरु हुनेछ। यसैकारण आईपीएल २०२४-को महत्त्व अझ बढ़ेको छ।
विश्वको सबैभन्दा ठूलो यस टी२० लीगमा यसपाली पनि केही खेलाड़ीहरूका प्रदर्शनमाथि सम्पूर्ण विश्वको नजर रहनेछ। यसमा महेन्द्र सिंह धोनीको सन्न्यासलाई लिएर कहिले समाप्त नहुने अड़कल, १६ सालदेखि खिताब जित्न नसक्ने विराट कोहलीको मृगतृष्णा, जीवनमा दोस्रो मौका पाएर मैदानमा ओर्लिरहेका रिषभ पन्त अनि कप्तानी खोसिएपछि मैदानमा ओर्लिन तयार रोहित शर्माको पीढ़ा सामेल हुनेछ। यी समस्त कहानीहरूले शुक्रवारदेखि शुरु हुने क्रिकेटको महासमरलाई अझ रोचक बनाउनेछ। धोनी ४२ सालको उमेरमा पनि आईपीएलका सबैभन्दा लोकप्रिय कप्तान हुन्। यसपाली पनि कसैले के यो तपाईंको अन्तिम टुर्नामेण्ट हो भनी प्रश्न गरे धोनीले केवल मुस्कुराउने सम्भावना छ। धोनीको शिष्य मानिने विकेटकीपर-ब्याटर पन्त भयावह कार दुर्घटनामा जीवनदान पाएर मैदानमा फर्किरहेका छन् अनि आफ्नो पाखुरामा अहिले पनि उत्तिकै दम छ भन्ने उनी साबित गर्न चाहन्छन्। आफ्नो पीढ़ाहरूलाई लुकाएर सर्वश्रेष्ठ प्रदर्शन गर्नमा विश्वास राख्ने रोहित एकपल्ट फेरि वानखेड़े स्टेडियममा ओर्लिनेछन् तर यसपाली उनी टीमका कप्तान हुनेछैनन्। दर्शकहरूका फेवरेट रोहित आफ्नो ब्याटको साथ आलोचकहरूलाई जवाफ दिन आतुर छन्।
यसरी किंग कोहलीको नजर आईपीएल खिताबमा हुनेछ, जसले उनको गत १६ सालदेखि प्रतीक्षा गरिरहेका छन्। एउटै टीमबाट शुरदेखि नै खेलिरहेका आईपीएलका एकमात्र खेलाड़ी कोहलीको जोशले उनको टीमको निम्ति टनिकको काम गर्नेछ। यसबाहेक आरसीबी-को महिला टीमले हालै महिला प्रीमियर लीग खिताब जितेको थियो। यसरी जूनमा हुने टी२० वर्ल्ड कपको निम्ति राष्ट्रिय टीममा स्थान बनाउने लक्ष्य लिएर कम्तीमा १०-१२ जना खेलाड़ी त चयनकर्ताहरू समक्ष आफ्नो उपयोगिता साबित गर्न तयार छन्। सम्पूर्ण विश्वलाई मनोरञ्जनको सागरमा डुबाउने आईपीएलमा यसपाली केही खेलाड़ीहरूले पुनर्गामन गर्नेछन् भने केही नयाँ स्टार खेलाड़ीहरू अघि आउनेछन्। केही खेलाड़ीहरूले जमीनदेखि उठेर अलग उँचाई हासिल गर्नेछन् भने केही खेलाड़ीहरू आकाशबाट खसेर जमीनमा झर्नेछन्। आईपीएल-मा एक ओभरमै खेलाड़ीहरूका भाग्य बद्लिने गर्छ। हरेक म्याचपछि खेलाड़ीहरूले सोशल मीडियाको प्रकोप पनि सहनु पर्नेछ। प्याट कमिन्स (सनराइजर्स हैदराबाद) र मिचेल स्टार्क (कलकत्ता नाइट राइडर्स) जस्ता महँगो खेलाड़ीहरूमाथि प्रत्याशाको चरम दबाउ रहनेछ।
साल २०२०-सम्म ५ वटा खिताब जिते पनि गत तीन सालदेखि रित्तै हात रहँदा मुम्बई इण्डियन्सले आफ्नो कप्तान बद्लिनु पऱ्यो। हार्दिक पाण्ड्यामाथि अब टीमलाई ट्रफी दिलाउने मात्र नभएर ड्रेसिंग रूममा सबैको मन जित्ने जिम्मेवारी पनि रहनेछ। यस्तो गर्न सफल भए चाहिँ उनले आधा लड़ाइँ जित्नेछन् कारण मुम्बईसँग बलरहरूका कमजोरी लुकाउने शक्तिशाली ब्याटिंग लाइनअप रहेको छ। आरसीबी-को निम्ति सबैभन्दा ठूलो प्रेरणा महिला टीमको खिताबी जीत हुनेछ। रन कम्ती नै बनाए पनि कोहली जसरी भए पनि खिताब जित्न चाहन्छन्। धोनी र रोहितसँग ५-५ वटा खिताब रहेको छ। केकेआर पनि दुईपल्टको च्याम्पियन टीम हो। एकमात्र कोहलीको झोली खाली छ। यसको निम्ति दिनेश कार्तिक, फाफ डू प्लेसिस र ग्लेन म्याक्सवेल जस्ता खेलाड़ीहरूले असल प्रदर्शन गर्नु जरूरी हुनेछ। प्रशिक्षकको भूमिकामा गौतम गम्भीरको आगमनले केकेआर-को टीम अलग जोशमा छ। मैदानमा उनी र कोहलीबीच मतभेद कसैसँग लुकेको छैन। केकेआरसँग श्रेयस अय्यर, नीतिश राणा, रिंकू सिंह र आन्द्रे रसेल जस्ता दिग्गजहरू रहेका छन्। यसरी गम्भीर गएरपछि प्रशिक्षकको रूपमा लखनऊ सुपर जाइण्ट्सको जिम्मेवारी लिने जस्टिन लेंगर समक्ष केही चुनौतीहरू रहनेछ। पन्तको आगमन दिल्ली क्यापिटल्सको निम्ति सफलताको मन्त्र साबित हुनसक्छ। गुजरात टाइटन्ससँग यसपाली हार्दिक पाण्ड्या र मोहम्मद शमी हुनेछैनन्। राजस्थान रोयल्समा यशस्वी जयसवाल, सञ्जु सेमसन, ध्रुव जुरेल र जोस बटलर जस्ता विध्वंशी ब्याटर रहेका छन्। यसरी प्याट कमिन्सको सनराइजर्स हैदराबाद र शिखर धवनको पञ्जाब किंग्स पनि आफ्नो छाप छोड़्न चाहन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *