चौरास्ता-१

Chowrasta-Darjeeling-1

भीडभित्र एक्लै हिँड्नुको आनन्द। मन नगरीनगरी हिँड्दा पनि बाटो कति छिटो काटेको। नेपाली साहित्य सम्मेलनबाट निस्किएपछि अल्याङटल्याङ गर्दै  हिँडिरहेको छु एक्लै। हिँड्नमा मज्जा पनि छैन नमज्जा पनि छैन तर पनि हिँडिरहेछु छु निरूद्धेश्य। किन हिँड्नु परेको होला यसरी मलाई। हिँड्नु भनेको टुङ्गो लाग्नु हो। टुङ्गो नभएको गन्तव्य हिँड्नु केको रहर लागेको मलाई । नसोचेको होइन, अघिदेखि सोचेको हो मैले  गन्तव्य पहिल्याउन  तर सोचे मात्रै। मभित्रको एउटा मनले हिँडिरहनु भन्यो तर कहाँसम्म हिँड्नु  भनेन। हिँड्नुपर्छ भनेर  हिँडिरहेछु। आजको दिन लफङ्गी जस्ती भएर डङ्गलडङ्गल हिँड्नु लेखेको रहेछ। यसरी एक्लै डङ्गलडङ्गल हिँड्नुमा पनि कम आनन्द नआउँदो रहेछ।

हुनु पनि म कसलाई भेट्नु हिँडेकी होली  है  यसरी? हो भने पनि भेट्नुलाई पुग्नुपर्ने गन्तव्य खोइ मेरो? थाहा भए पो फलानो ठाउँ भन्नू। कस्तो हुस्सु है म केही पनि थाहा नभएको मलाई।  यसरी केही कुरा थाहा नहुनु भनेको आफूभित्रको म मान्छे पक्षघातको शिकार हुन लागेको अनौठो आभाष हो।  छिः छिः मैले  के साह्रो निकेटिभ मात्र सोचेको  है?  घडी दोकान अघि उभिएर ट्वालट्वाल्ती हेर्छु भित्र। दोकानभित्रको आशाले मलाई पुलुक्क हेर्यो र केही सोधुला जस्तै गर्यो। तर सोधि हालेको भने छैन। मलाई सोधेर आशा नियास्रो हुनु मात्र हो त्यसैले नसोधोस् भन्दैछु आफैंलाई । आशालाई जीवन दिनु थिएन त्यसैले फेरि हिँड्न थाल्छु। किन्नु थिएन भने त्यसै किन  हेरेको होला मैले? ला के भन्यो होला है त्यो आशाले। बोनी भएको थियो कि थिएन कोनि मैले नजर लगाएँ। आधा दिन हुनु आँट्यो बोनी किन नहुनु भयो होला नि। आफैभित्र सुर्ताउछु । सोच्ने नसोच्ने जे सुके सोचेर किन हँ यसरी मैले आफैलाई दुख दिएको।  जे  सुकै होस् न अर्काको  किन सुर्ता गर्छस् बिच्चामा।

हिँड्दाहिँड्दै  के केलाई देखेर मुस्काउछु । के के  देखेर यसरी मुस्काउनु पाउनुको लागि मेरो जस्तो फुलेको बैँस हुनुपर्छ। फुलेको बैँस भएर के गर्नु हेरिदिने कोही भए पो। यो शहरमा को छ होला नि मेरो फुलेको बैँस हेरेर प्रशंसा गरिदिने? “हैट, यो केटी के भाको हँ? हिँड् चुपचाप?” एउटा मन बेस्सरी रिसाएर झपार्यो मलाई।

हो त नि भनेर पाइला मात्र बढाएको छु  “नमस्ते!” को आवाजले ठिङ्ग उभिन्छु।

संसारमा एउटै अनुहार भएको मान्छे पाँचजना हुन्छन् अरे भनेको सुनेको थिएँ त्यसैले त्यो अनुहारसित विश्वास  गरि हालेको भने छुइनँ। फेसबुकमा देखेको मात्र  हो उसलाई। मैले सोचेको ऊ हुनु पनि सक्छ नहुन पनि सक्छ

पुष्कर दाजु दुई कर जोडेर ठिङ्ग उभिएको छ मेरो अघि। हतप्रभ भएर निलीकाली हुन्छु। कानका लोतीहरू रनकेको अनुभूति  गर्दैछु । निधारमा चिटचिट पसिना उम्रिन्दैछ। एकछिन भए पनि लाट्टिएछु।  वहाँ कै देखासेखी गरेर नमस्तेको प्रतिउत्तर दिन्छु। नमस्ते गरिसकेर पो सहज फिल गरे। यो पुष्कर दाजु कति मीठो हाँसेको हौ। लट्ठापार्ने  हँसाइ। मान्छे  हिरो नि हौ पराइ त्यसै फिल्ममा खेल्छ। लाटी जस्तो थ्वाँ परेर के सोचेकी यसरी ।  “ए केटी! होसियार है।  तँ  एकजना खप्पिस कविको अघि उभिएकी छस्   मनोविज्ञान बुझ्ला नि।” मेरो मनले सतर्क गरायो। आफूले टेकेको भुइँ थरर्र हल्लिएको जस्तो लाग्यो। तर्कुला सुकेर क्यापक्याप  भयो। पानी भएको भए घटघट पिउँथे।

“कहाँ जानु भएको? “सोध्नु भयो।

ला अब कहाँ गएको भन्नु। गन्तव्य सोचेको भए पो यहाँ भन्नु। घोरिन्छु, पटक्कै आएन जाने ठाउँको नाम। यो दाजुले कस्तो हेरेको हौ। यसरी हेरेर पनि होला मेरो मस्तिष्कले काम गर्न छोडेको। त्यो हेराइले मेरो अन्तरमनलाई कुत्कुताएर लजाउनु बाध्य बनाएको छ। यस्तो हेराइले  जस्तै  मै हूँ भन्नेलाई पनि कायल बनाएर छोड्छ।

“त्यसै घुम्नु हिँडेको दाजु!” यति चाहिँ मुस्किलले भनेको छु।

जवाफ  सुनेर  फिस्स हाँस्नुभयोl

मेरो गालामा सायद लाली चढ्यो होला किनभने फेरि अर्कोपटक कानको लोती  रनक्क रन्केको अनुभूति गर्दैछु। किन यति साह्रो लाज लागेको होला  है मलाई। गफ गर्ने शब्दहरू नभर होला हेराहेर गर्दैछौं मौनतामा उभिएर। “जान्छु ल बहिनी।” अचानक बोलेर जवाफ नपर्खी ओह्रालो लाग्नुभयो  दाजु। अब गई त सक्यो  के भन्नु मैले। कस्तो बहुलट्टी हौ म। देख्न छोडेपछि ढुक्क हुन्छु तर  दाजुले के भन्यो होला सकसमा पर्छु। कस्तो घमण्डी रहिछ भन्यो होला। आ भन्यो भने पनि भनोस् हौ हिँड् अब लुरूलुरू। 

उकालै जाँदैछु भीडभित्र मिसिएर। छक्क पर्दैछु देखेर उसलाई। मोबाइलमा कसैसित बात गर्दैछ। हो कि होइन भनेर ठम्याउँदैछु पनि। संसारमा एउटै अनुहार भएको मान्छे पाँचजना हुन्छन् अरे भनेको सुनेको थिएँ त्यसैले त्यो अनुहारसित विश्वास  गरि हालेको भने छुइनँ। फेसबुकमा देखेको मात्र  हो उसलाई। मैले सोचेको ऊ हुनु पनि सक्छ नहुन पनि सक्छ। अहिले भने यता फर्केर बात गर्न थाल्यो। हैट ऊ नै हो नि। म्यासेन्जरमा घण्टौ मसित च्याट गर्ने ऊ। मेरो आँखाको नानीमा उभिएको फोटोसित जाँच्दैछु उसको अनुहार। ठ्याक्कै ऊ नै हो। कस्तो मनोहारी अनुहार सुमसुम्याइ रहनु मन लाग्ने।

“ए केटी! पुजा चाहिँ राम्रै गरेकी  थिएछस् बिहान र त अहिले  तेरो मनको मान्छे तेरै अघिल्लितिर  उभिएको छ।” एउटा मन जिस्किन्छ मसित।

“ए मन तँ के भाको हँ। तैंले जे भन्दा पनि हुने? के तँलाई थाहा छैन मैले भगवान मान्दैन भन्ने कुरा?” कस्तो जी नरिसाउँ भन्दा पनि रिसाउनु पर्छ यसरी यो मनसित। भन्दा उसले पो मलाई चिन्छ कि चिन्दैन कोनि? उसले पनि त मलाई फेसबुकमा मात्र देखेको हो नि। ‘बाटोमा भेट्दा मलाई चिन्नु हुन्छ के  ? ‘एक दिन म्यासेन्जरमा सोधेकी थिएँ। त्यसपछि उसले ‘किन नचिन्नु चिन्छु नि’ लेखेको थियो।

“बेसी नसोच केटी। चिने पनि नचिने पनि गएर एकपल्ट बोल्।” मनले उर्जा दियो।

ऊ अझै बात गरिरहेको छ। यति लामो कोसँग बात गरेको होला? मभित्र आह्रिसको मुना टुसाउँछ। छेउमा गएर  उभिन्छु। हेरिरहन्छु आँखाभरिको माया पोखेर। मेरो एक पाखे माया।

पुलुक्क हेर्यो मलाई। बात गर्न छोडेर अरकच्च पर्यो। उसले त्यसरी हेर्दा डल्लै जीउ सिरिङ्ग भयो खुशीले, डरले, कुन्नि के केले। मुसुक्क मुस्कायो ऊ। म पनि ऊ जस्तै। के भनुम भनुम म। अलमल्ल जस्तो पनि। यसरी हामी भेटिनु  पाउनु सरप्राइज हामी दुवैलाई । हेराहेर गरेर किन नबोलेको होला हामी। नबोल्नुकै लागि भेट भएको हो कि? किन होला ऊ अझै अष्टम आश्चर्य देखे जस्तो ट्वाल्ल परिरहेको छ। उसलाई यसरी नजिकबाट देख्न पाएकोमा मनैमन रमाएको छु तर, खुशीलाई प्रष्टाउन नसकेर मुस्काएरै बग्न दिएको छु। हामी माझको सानो स्पेसबाट छिरेर मान्छेहरू ओहोरदोहोर गरिरहेका छन्।

“ए मान्छे! तिमी लाटा छैनौं भने केही त बोल।” ओठ मात्र हल्लिएर  उसले नसुन्ने गरि शब्दहरू छरिन्छन्।

“मेरो मनले खोजेको तिमी नै त हौ।” भने जस्तै लागिरह्यो उसको नशालु मुस्कानमा। उसले मेरो आँखामा कुन्नि के के खोजिरहेको छ नबोलेर। म पनि उसले जसरी नै हेरेर उसको आँखामा आफ्नो प्रतिविम्ब खोज्दै- “ए मेरो मनको मान्छे! तिमीले रोजेर खोजेको म नै हूँ तिम्रो शकुन।” मेरो मनको उद्गार सुनेन उसले। अहिले भने ऊ चलमलायो। हातको मोबाइल नहेरी गोजीमा हालेर दुई हात जोडेपछि “नमस्कार” भन्यो। पहिलो भेटको औपचारिकता भए पनि स्तब्ध छु म।  सातो हराएको जस्तो फुङ्ग भएछु। भगवानको अघि उभिए जस्तो हात जोडेर नि:शब्द छु। चाल पाउँदैछु लाजले मेरो अनुहार रक्तिम हुँदैछ।

एक मुठी भुँवरीमा सकस परे जस्तो छट्पटिएर जिज्ञासा पोख्छु – “कहाँ जानू भएको?”

” ए मोरी के भा’ को हँ तँ? यो आदारार्थी शब्द कहाँबाट आज? “मनले भन्दा पो झसङ्ग हुन्छु।

 होस् न अब पोखी त हाले। मनलाई बुझाउँछु यसरी।

“नेपाली साहित्य सम्मेलनमा  प्रोग्राममा आएको थिएँ ।” उसले जवाफ  दियो।

“म पनि त्यहीँ आएको थिएँ  किताब विमोचन भएपछि फुत्त निस्किएर हिँडेको। तपाईं आउँछु भन्नुभएको भए म  त्यहीँ बस्थे नि।” भने।

“ए है। म जान्छु ल  साथीहरूले पर्खिरहेको होलाl” भनेर जानलाई हतारियो ऊ। कस्तो निर्दयी मान्छे रहेछ। उसको व्यवहारले मनमा चोट लाग्यो। मेरो एकपाखे मायाले रूचाएको मान्छे  रहेछ ऊ। सम्झिएर आँखा धमिलो भयो। भकानिन सक्छु भन्ने डर लाग्यो त्यसैले “हुन्छ” भने।

“अहिले कहाँसम्म?” यति त सोध्यो उसले। गन्तव्य नभएको मान्छेले कहाँ भन्नु। नभन्नु पनि सिल्ली हुनु हो। उकालो हेरेर चोर औंलीले देखाउँछु।  देखाएको ठाउँमा बिल्डिङ  र ग्वारग्वार्ती  हिँडिरहेका मान्छेहरू मात्र थिए।

“चौरास्ता? ” सोध्यो उसले।

 “हजुर। “मैले सोच्दै नसोचेको गन्तव्य थियो।

हिँड्दा बाटोमा भेटिएको ढुङ्गा सरह सोचे र मनलाई बुझाए। अलिकति खोस्रिएको भएर होला त्यति दुखेन।  मनले बुझ्यो र ढुक्क भएँ। नि:शब्द हिँडिरहेछु पाइलाहरू गन्दै, बिर्सिन्दै फेरि गन्दै। मज्जा मानेर नानी जस्तै रयान्डम हिँड्दैछु रमाउँदै। कुन्नि कस्तो हरहर यस्तो, डाइवेटिजले भेटेको तिर्खा जस्तो। एक गिलास तातो चियाले नपुगेर फेरि मागेको छु एक गिलास काले भैयालाई। खिचिक्क। खिचिक्क। थुप्रै पोजमा सेल्फी खिचिसकेको छु। मेरो रूप र सुन्दरताले तानेर उसलाई यहाँसम्म ल्याउनु नसकेकोमा शंका गर्दै फोटोहरूमा विश्वास खोज्छु। मभित्रको सन्तुष्टिले विश्वास जित्यो। फेसबुकमा फोटोहरू अपलोड गरेर  ढुक्क हुन्छु। उसले मेरो सुन्दरताको कदर नगरेर के भो? फेसबुकमा छन् नि  मेरो सुन्दरताको कदर गर्नेहरू।

वाह, दामी, क्या बात, किन एक्लै? चौरस्तामा हो?? सो सुइट …… लु हेर एकैछिनमा अनगिन्ती लाइक र कमेन्टहरू। त्यसपछि  चियाको गिलास समाएर पक्क पर्छु परतिर हेरेर। विश्वास अविश्वास दुइटै पोतिएको छ आँखामा। आएछ ऊ। हातमा भएको किताबले तिघ्रामा हिर्काउँदै घुमिघुमि खोजिरहेछ कसैलाई। कसैलाई होइन उसले मलाई नै खोजेको हो मभित्रको विश्वास।

बोलाउनु मन लागेर पनि बोलाउदिन। खोजुस न भक्कु, अघि त हतारिन्दै गा’को होइन साथीहरूकोमा। मनले नेगेटिभ कुरा सिकाउँदैछ। अहिले चाहिँ देख्यो। हेर त कुदेको केटाकेटी जस्तो। उसको कुदाइले मेरो शरीरमा विद्धुत तरङ्ग कुद्न थाल्यो। मेरो कुममा उसको हातको स्पर्श हुँदा मोजार्टका शिष्यहरूले पियानोमा सोलो बजाइरहेको थियो।  *समाप्त*

(लेखक सुपरिचित युवा कथाकार एवं सामाजिक कार्यकर्ता हुनुहुन्छ)

                         

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement