बद्रीनारायण प्रधानका कार्यहरू सम्मानका साथ अध्ययन गर्न आवश्यकः डा. कविता लामा
‘मौली’ नेपाली साहित्यको विशिष्ट कृतिः डा. हर्कबहादुर छेत्री
यो सम्मानले प्रेरित भएको छुः सुवास दीपक
बाग्राकोटः वरिष्ठ लेखक, अनुवादक, पत्रकार तथा सम्पादक सुवास दीपकलाई १३औँ बद्रीनारायण प्रधान स्मृति पुरस्कार-२०२४ अर्पण गरिएको छ। पश्चिम डुवर्सको बाग्राकोटमा आज एक भव्य समारोहमा श्री दीपकलाई अङ्ग वस्त्र, स्मृति-चिन्ह र नगद राशि १५००१ रुपियाँसहितको बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण गरिएको हो। बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले सन् २०१२ देखि प्रत्येक वर्ष सर्वभारतीय स्तरमा यो पुरस्कार नेपाली साहित्यका विशिष्ट साहित्य साधकलाई अर्पण गर्दै आएको छ। बद्रीनारायण प्रधानको ९६औँ जन्मजयन्तीको अवसरमा आयोजित पुरस्कार अलङ्करण समारोहलाई वरिष्ठ लेखक तथा बुद्धिजीवी डा. हर्कबहादुर छेत्रीले अध्यक्षता गरेका थिए भने सिक्किम केन्द्रिय विश्वविद्यालय नेपाली विभाग प्रमुख एवं वरिष्ठ समालोचक डा. कविता लामा कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित थिइन्। यसैगरी, सुवास दीपक, वरिष्ठ अधिवक्ता तथा अनुवादक अनमोल प्रसाद, वरिष्ठ समालोचक डा. मोहन पी. दाहाल, वरिष्ठ लेखक गोपालसिंह विश्व, वरिष्ठ पत्रकार पेमा वाङ्चुक एवं असम गोर्खा सम्मेलनका अध्यक्ष कृष्ण भूजेल अतिथिका रूपमा आसिन थिए।

पुरस्कृत भएपछि कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले पछिल्लो ५७ वर्षदेखि अक्षरको खेती गरिरहेको बताए। व्यक्तिगत जीवनका अनेकौँ उतार-चढाउहरू आए पनि आफूले कहिल्यै हरेश नखाएको जनाउँदै साहित्यकार दीपकले भने,”अनेकौँ चुनौतीहरू आउँदा पनि मैले अक्षरको खेती गर्न छाडिन। यो पुरस्कार र सम्मानले म प्रेरित भएको छु। मलाई थप ऊर्जा मिलेको छ।” यो पुरस्कार अमूल्य रहेको पनि उनले बताए। भावी पुस्ताले नेपाली भाषा-साहित्यको संरक्षण र प्रवर्धनमा गम्भीर भएर सोच्नुपर्ने आवश्यकतामाथि पनि उनले जोड दिए। कार्यक्रमकी प्रमुख अतिथि डा. कविता लामाले बालसाहित्यमा बद्रीनारायण प्रधानको योगदानको जिकिर गर्दै भनिन्, “भा।षा-शिक्षा-साहित्यको विकासमा पारसमणि प्रधान र बद्रीनारायण प्रधानको योगदान तुलनीय छ। नेपाली साहित्यमा बद्रीनारायण प्रधानका कार्यहरूलाई हामीले सम्मानका साथ अध्ययन गर्न जरुरी छ। त्यसकारण यो पुरस्कारको आफ्नै एउटा सम्मान छ अनि सुवास दीपक जस्ता कर्मशील र विशिष्ट साहित्यकारले यो पुरस्कार पाउनुले यसको सम्मान अझ बढेर गएको छ।” ‘मौली’ उपन्यासलाई अङ्ग्रेजी अनुवाद पुरस्कार समितिमा पठाउन सुझाउ दिँदै यसले अङ्ग्रेजीमा साहित्य अकादमी अनुवाद पुरस्कार पाउनुपर्नेसमेत उनको टिप्पणी थियो। उनले ‘मौली’ अनुवादको प्रसङ्ग झिक्दै अनुवादक अनमोल प्रसादप्रति सम्मान व्यक्त गरिन्। साहित्यकारहरूले समाजबाट सधैँ सिक्ने प्रयत्य गर्नुपर्ने आवश्यकतामाथि उनको विशेष जोड थियो भने डुवर्स आउनु आफूलाई सधैँ प्रिय लाग्ने पनि बताइन्। उल्लेखनीय छ, बद्रीनारायण प्रधानरचित ‘मौली’ (१९९३) उपन्यासलाई हालै अनमोल प्रसादले अङ्ग्रेजीमा अनुवाद गरेका छन् भने त्यसलाई रचना बुक्स, गान्तोकले प्रकाशित गरेको छ। अनुवाद भएपछि मात्र ‘मौली’ -को महत्त्व प्रकाशमान भएको जिकिर गर्दै डा. हर्कबहादुर छेत्रीले भने, “मैले पनि तीस वर्षदेखि ‘मौली’ त्यसै थन्काएर राखेको रहेछु। साथी अनमोल प्रसादले अनुवाद गरेपछि मात्र यसको महत्त्वलाई बुझेर पढ्न थालेँ अनि छक्क परेँ। यो पुस्तक त नेपाली साहित्यको अमूल्य निधि पो रहेछ।” बद्रीनारायण प्रधान, गणेशलाल सुब्बाहरूलाई कम्युनिस्टको नाममा उपेक्षा गरिएको त होइन भन्ने आशंका प्रकट गर्दै उनले दुवै विद्वान नेपाली समाजका धरोहर रहेको मन्तव्य गरे। “राजनीतिबिनाको साहित्य हुँदैन भन्ने इमानदार साहित्यकार थिए बद्रीनारायण प्रधान। उनले जुन कार्यहरू गएर गए, त्यो दूरदर्शी सोच र लेखन क्षमताको उदाहरण थियो”, डा. छेत्रीले भने। उनका सम्पूर्ण कृतिहरूको खण्ड निकाल्नपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले यसमा आफ्नो पक्षबाट पनि मद्दत गर्ने आश्वासन दिए। अनुवादक अनमोल प्रसादले ‘मौली’ अनुवादको लामो अनुवाद यात्राबारे जानकारी दिए भने आफूलाई ‘मौली’ नै किन अनुवाद गर्न परेको थियो भन्ने विषयमा पनि प्रकाश पारे। यो पुरस्कार चयन प्रक्रियाले एउटा विशिष्ट ठाउँ बनाएको बताउँदै डा. मोहन पी. दाहालले प्रतिष्ठानमा आबद्ध भएर काम गर्न पाउँदा छुट्टै आनन्द र स्फूर्ति महसुस हुने गरेको बताए। समारोहमा सुवास दीपकको परिचय प्रस्तुत गर्दै सिक्किम केन्द्रिय विश्वविद्यालयका प्राध्यापक डा. देवचन्द्र सुब्बाले उनीप्रति मूल्याङ्कनपरक विचार राखे। सुवास दीपकको साहित्यमा अवदानमाथि उनले गहन रूपमा प्रकाश पारेका थिए। यसअघि, प्रतिष्ठानका कर्मठ सदस्य एवं डुवर्स नेपाली साहित्य विकास समितिका मूलसचिव रविन खवासले बद्रीनारायण प्रधानसँगका अन्तरङ्ग सम्बन्ध र संसर्गको प्रभाव र मूल्यबारे अवगत गराएका थिए। डुवर्समा नेपाली भाषाको शिक्षाको बिजारोपणमा बद्रीनारायण प्रधानको अतुलनीय योगदान रहेको पनि उनले बताए। कार्यक्रममा वरिष्ठ कवि अबीर खालिङले सुन्दर कविता वाचन गरे। हालै दिवङ्गत भएका डुवर्सका प्रतिभाशाली गीतकार, नाटककार तथा कवि नरेन्द्र खड्कालाई श्रद्धाञ्जलि अर्पण गर्दै वरिष्ठ गायक अजय थापाले खड्कारचित गीत गाएर सुनाए।
बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका मूलसचिव रूपेश शर्माले स्वागत सम्बोधनका साथै कार्यक्रमलाई सञ्चालनका गरेका थिए भने प्रतिष्ठानका कर्मठ सदस्य अजय खड्काले धन्यवाद ज्ञापन गरे। कार्यक्रममा सिक्किम, असम, भूटान, दार्जीलिङ, कालेबुङ, खरसाङ, सिलगढ़ी, डुवर्स, लाटपञ्चारसहित विभिन्न क्षेत्रबाट साहित्यकार तथा साहित्यानुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बद्रीनारायण प्रधानका परिवारका सदस्यहरूको पनि धेरै सङ्ख्यामा उपस्थिति थियो। यस अवसरमा रचना बुक्स, गान्तोकका स्वामी रमन श्रेष्ठ अनि ‘मौली’ -का अनुवादक अनमोल प्रसादलाई बद्रीनारायण स्मृति प्रतिष्ठानद्वारा सम्मान जनाइएको थियो।