भागोप्रमोको राजनैतिक यात्रा धेरै लामो छ: अमर लामा
खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय कार्यकारी कमिटीको सभा खरसाङ महकुमा अन्तर्गत पर्ने समष्टीहरूलाई लिएर सम्पन्न भएको छ। खरसाङको टाउन सार्वजनिक भवनमा सम्पन्न सभाको अध्यक्षता सभासद एंव भागोप्रमो केन्द्रीय कार्यकारी कमिटीको सदस्य प्रमोस्कर ब्लोनको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई सभासद एंव केन्द्रीय कार्यकारी कमिटीको सदस्य प्रणाम रसाईलीले सञ्चालन गरेका थिए। सभामा भागोप्रमोको खरसाङ महकुमा समिति अन्तर्गत पर्ने १३ वटा समष्टीहरू र खरसाङ टाउनलाई लिएर सभा सम्पन्न भएको थियो। सभामा पार्टीको केन्द्रीय, महकुमा र समष्टीका प्रतिनिधिहरू उपस्थित रहेका थिए। सभामा भागोप्रमो केन्द्रीय महासचिव अमर लामाले आफ्नो सम्बोधनमा पार्टी अध्यक्ष अनित थापाले जुन उद्देश्य र विचारले पार्टीको केन्द्रीय कार्यकारी कमिटी गठन गरेका छन् त्यो पार्टीको ठूलो निर्णय लिने क्षमता छ भन्ने हामीले बुझेका छौं भनी बताए। उनले भने, ‘पार्टी अध्यक्षले तपाईहरूको निर्णय सर्वोपरि भन्नु भएको छ र तपाईहरूमाथि म बस्नेछु तर पार्टीको कतिपय निर्णयहरू केन्द्रीय कार्यकारी कमिटीले गर्नेछ भनेर यो गठन गरेका हुन्।’
उनले अघि भने, ‘भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको राजनैतिक यात्रा धेरै लामो छ र भागोप्रमोले केवल चुनाव मात्र हेर्दैन।’ लामाले अझ भने, ‘पहाड़मा राजनैतिक संस्कारमा ह्रास आएको छ। राजनैतिक दलहरूले आफ्नो क्रियाकलाप गम्भीर रूपमा गरेको छैन। दुन राजनैतिक दल आफ्नो संगठनमा गम्भीर हुँदैन जनतालाई न्याय दिनु सक्दैन।’

महासचिव अमर लामाले भागोप्रमोलाई क्याडर बेस पार्टी बनाउनलाई पार्टीको शाखा र प्रशाखाहरू गठन गरेर सांगठनिक रूपमा अघि लाने बताउँदै प्रशाखाबाट नै कमिटी गठन गरेर ल्याउनुपर्छ र पार्टी जरादेखि नै बलियो भएर आउनलाई गाउँतिरबाट नै बलियो बलियो भएर आउनुपर्छ भनी बताए। उनले आगामी ३१ जनवरीभित्र सबैले समष्टी, शाखा र प्रशाखाहरू गठन गरिएको रिपोर्ट पेश गर्नु पर्ने बताएका छन्।सभामा केन्द्रीय सह सचिव ज्योतिकुमार राई, केन्द्रीय सांगठनिक सचिव रकन थापा र सभाध्यक्ष प्रमोस्कर ब्लोनले पनि वक्तव्य राखेका थिए। सभामा खरसाङ महकुमा अन्तर्गत पर्ने १३ वटा समष्टीहरूलाई शाखा प्रशाखा कमिटीहरू गठन गर्ने निर्देशनसहित आगामी ३१ जनवरीभित्रमा शाखा प्रशाखा गठनको रिपोर्ट केन्द्रीय कार्यकारी कमिटीमा बुझाउनु पर्ने निर्देश जारी गरिएको छ। सभामा खरसाङ महकुमा अन्तर्गत खरसाङ चिमनी देवराली समष्टी, मङ्पु लाब्दा समष्टी र तकलिङ पेशोक समष्टीको समष्टी कमिटी विघटन भएको घोषणा गर्दै तीनैवटा समष्टीहरूमा आगामी ३१ जनवरीभित्रमा समष्टी कमिटी गठन गर्नु पर्ने निर्देशन जारी गरिएको छ। यसको लागि तीनवटै समष्टीहरूमा क्षेत्रीय सभासदलाई समष्टी कमिटी गठनको लागि जिम्मेवारी दिन्दै संजोयक बनाइएको छ। सभामा भागोप्रमो खरसाङ महकुमा समितिमा सातजना अन्य कार्यकारी सदस्यहरू मनोनित गरिएको छ। सभामा सबै समष्टी कमिटीहरूलाई शाखा प्रशाखाहरू गठन गर्न साथै मनोनित नयाँ सदस्यहरूलाई नियुक्ति पत्र प्रदान गरिएको छ। उक्त पत्रहरू भागोप्रमो केन्द्रीय महासचिव अमर लामा, खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानको बाहुलीबाट प्रदान गरिएको छ। भागोप्रमो खरसाङ महकुमा समितिको सबै समष्टीहरूलाई लिएर गरिएको सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो केन्द्रीय कार्यकारी कमिटीको सदस्य एंव सभासद प्रणाम रसाईलीले आज खरसाङ महकुमा अन्तर्गत पर्ने १३ वटा समष्टीहरू र खरसाङ टाउनलाई लिएर भागोप्रमोको केन्द्रीय कार्यकारी कमिटीको सभा बसिएको जानकारी गराए। उनले पार्टीलाई ढाँचागत रूपमा अघि लान र सांगठनिक रूपमा बलियो बनाउनलाई साथै पार्टीगत रूपमा कतिपय निर्णयहरू लिनलाई केन्द्रीय अध्यक्ष अनित थापाको निर्देशनमा केन्द्रीय कार्यकारी कमिटी गठन गरिएको छ र उक्त केन्द्रीय कार्यकारी कमिटी सभा आज सम्पन्न भएको बताए।

प्रणाम रसाईलीले पत्रकारहरूले सोधेका प्रश्नहरूको उत्तरमा हिजो मिरिकमा बसेको, आज खरसाङमा अनि अब कालेबुङ र दार्जीलिङमा पनि सम्पन्न हुने बताएका छन्। उनले खरसाङ महकुमा अन्तर्गत तीनवटा समष्टीहरू विघटन गरेर नयाँ कमिटी गठन गरिने र यसको लागि खरसाङ चिमनी देवराली समष्टीको नयाँ कमिटी गठनको लागि सभासद श्याम शेर्पा, मंङ्पु लाब्दा समष्टीको लागि सभासद रकन थापा, तकलिङ पेशोक समष्टीको लागि सभासद मणिप्रसाद राईलाई संयोजक बनाएको जानकारी गराउँदै उनीहरूको नेतृत्वमा तीनवटा समष्टी कमिटीहरू र अन्य समष्टीहरूमा शाखा, प्रशाखा कमिटीहरू गठन आगामी ३१ जनवरीभित्रमा गर्नु पर्ने निर्देश जारी गरिएको जानकारी दिएका छन्।











