पक्षीग्रन्थ ‘अ रसल इन द फोलिज’-को लोकार्पण

IMG-20240101-WA0007.jpg

सिलगढ़ी: सिक्किमे चरा फोटोग्राफर एवं लेखक सुरज गुरुङद्वारा लिखित ‘अ रसल इन द फोलिज’ नामक पक्षी पुस्तकको लोकार्पण ३० दिसम्बर, २०२३-को दिन सालबारीको प्रकाशन संस्था बुकएन्टको प्रेक्षागृहमा सम्पन्न भयो। ८४ वटा रङ्गीन पक्षी तस्विरहरूसहित चरासम्बन्धी यात्रा विवरणहरू, उपाख्यानहरू, निबन्धहरू र कविताहरूको सङ्कलन भएको नयाँ ढङ्गको सृजनात्मक यस पक्षी पुस्तकको प्रकाशक रचना बुक्स एण्ड पब्लिकेशन्स, गान्तोक रहेको छ। ‘अ रसल इन द फोलिज’-मा विश्वप्रसिद्ध ब्रिटिश पक्षीविद् र लेखक क्यारोल इन्स्किपले भूमिका लेखेका छन्। यो पुस्तकको निर्माण लेखकको व्यापक पक्षी यात्राको परिणाम हो जुन यात्रा उनको गृह राज्य सिक्किमलगायत दार्जीलिङ, खरसाङ र कालेबुङका छेउछाउका पहाड़ी क्षेत्रहरूमा व्याप्त छ। दुर्लभ प्रजातिका चराहरूबाहेक पुस्तकले आम चराहरूलाई पनि नयाँ प्रकाशमा चित्रण गर्दछ। नियात्रा लेखक चरा र वन्यजन्तु फोटोग्राफर हुन्, जसले पाठकलाई नेउरा उपत्यकाको हरियो जङ्गल, पश्चिम सिक्किमको हिमाली क्षेत्र, तिब्बती पठारको छेउमा रहेको गुरुदोङमारका चिसो मरुभूमि र न्यानो सिमसार क्षेत्रको अविस्मरणीय यात्रामा लैजान्छन्। पुस्तक विमोचन समारोहमा प्रकृतिप्रेमी, पक्षी फोटोग्राफरहरू साथै सिलगढ़ी, दार्जीलिङ र सिक्किमका प्रतिष्ठित साहित्यिक व्यक्तित्वहरूको सहभागिता थियो।
कार्यक्रमको शुरुवात वातावरणविद् तथा पर्यावरण उद्यमी उत्सव प्रधानद्वारा पुस्तक समीक्षाबाट भएको थियो। आफ्नो सम्बोधनमा प्रधानले भने, ‘अ रसल इन द फोलिज’-ले फिल्डमा बर्ड कल प्लेब्याकको प्रयोगको मुद्दालाई ल्याएर जिम्मेवार पक्षी फोटोग्राफीको मुद्दा उठान गरेको छ। स्थानीय चराहरूको अस्तित्व धेरै हदसम्म यस क्षेत्रको ध्वनि र स्वस्थ पारिस्थितिकीमा निर्भर गर्दछ। आफ्ना कविताहरूमार्फत् लेखकले हाम्रो परम्परागत कृषि पद्धतिको संरक्षण, पूर्वी हिमाली क्षेत्रका स्थानीय खाद्यान्न परम्परा संरक्षण एवं पक्षी जनसङ्ख्या संरक्षण र चराचुरुङ्गी पर्यटनलाई जोगाउने आवश्यकताबारे पनि सूक्ष्म रूपमा कुरा गरेका छन्।
आफ्नो सम्बोधनमा प्रियङ्का च्याटर्जी (सहायक प्रोफेसर, अङ्ग्रेजी विभाग, उत्तरबङ्ग विश्वविद्यालय)-ले ट्रान्स-डिसिप्लिनरी लेखनको सबल उदाहरण ‘अ रसल इन द फोलिज’ पूर्वी हिमाली क्षेत्रको पक्षी अवलोकनको कथा मात्र नभएर वर्तमान पूँजीवादी व्यवस्थामा हाम्रो जीवनको द्रुतताको मिथकलाई पनि चुनौती दिएको कुरा भनिन्। पुस्तकको मुटुमा चराहरूको कथा छ। यस पुस्तकले जङ्गल र प्रकृतिको आवाजलाई आत्मसात गराउँछ। कथाशैली सरस छ र शब्द चयनको मितव्ययित। प्रबल पक्ष हो। पुस्तकमा शानदार पक्षी फोटोहरूसँग पक्षी कविताहरू र संस्मरण मिलाइएको छ, उनले भनिन्, पुस्तक विभिन्न स्थानीय प्रजातिका रुखहरू, चराहरू र स्थानीय मिथकहरूका स्थानीय नामहरूले भरिएको छ र कथामा रहेका किंवदन्तीहरूले हाम्रो विघटन हुँदै गएको जीवनबाट द्रुत रूपमा हराउँदै गएको सांस्कृतिक कथाको सम्झना दिलाउँछ।
त्यसपछि क्याफे द ट्विन्सका सञ्चालक तथा साहित्यप्रेमी लेखा राईले लेखकसँग संवाद गरिन्। सर्जक संवादमा चराचुरुङ्गी, बर्ड फोटोग्राफी, चराचुरुङ्गी पर्यटनको संरक्षण र दिगोपन तथा ग्रामीण पर्यटनका विषयमा धेरै विषयमा छलफल भएको थियो।
विमोचन समारोहमा सिक्किम सरकारका पूर्व वरिष्ठ अधिकारी एवं साहित्यकार तथा सिक्किम अकादमीका पूर्व अध्यक्ष पेम्पा तामाङ, वरिष्ठ लेखक-पत्रकार सुवास दीपक, प्रख्यात इतिहासकार तथा लेखक डा. सोनाम बी वाङ्ग्याल र सेवानिवृत्त प्रहरी अधिकृत राजेन मोक्तानको पनि उपस्थिति रहेको थियो। सिक्किमकी कवि युमिता राईले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *