गान्तोक: सिक्किमका विभिन्न समुदाय मध्ये ढकाल थरका मानिसहरूका पारिवारिक इतिहास र ऋषि उपमन्युका प्रतिमासहितको वाटिका उद्टन गरिएको छ। पूर्व सिक्किमको गान्तोक जिल्ला अन्तर्गत खाम्दोङ ढकाल चोक, सिमिक आरिटारमा भव्य कार्यक्रमबीच सिक्किमका ढकालहरूको परिचयात्मक इतिहास पुस्तकर लोकार्पण भएको छ। यसैगरि कार्यक्रममा नवनिर्मित ऋषि उपमन्यु वाटिकाको विधिवत उद्घाटन गरिएको छ।
सिक्किमभरिका ढकालहरूका प्रतिनिधिहरूको उपस्थितमा आयोजित कार्यक्रमको आयोजन सम्पूर्ण ढकाल परिवारद्वारा गरिएको थियो। यस अवसरमा मुख्य अतिथिको रूपमा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार टीएन ढकालको उपस्थिति रहेको थियो। पूर्व सचिव तथा सूचना आयुक्त सीपी ढकालको तत्परतामा निर्माण भएको वाटिकालाई आउँदो दिनहरूमा संस्कृति अध्ययनको संस्थानको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
यसरी राज्यभरिका आफन्तहरूको उपस्थितिमा नियमित कार्यक्रम हुन आवश्यक रहेको जसले आफन्तहरूबीच सम्बन्ध मधुर हुने र युवा पुस्तालाई आफ्नो वंशबारे जानकारी हुने महत अवसर प्रदान गर्न सकिने मुख्य़ अतिथि ढकालले आफ्नो सम्बोधनमा मन्तव्य व्यक्त गरे। सम्पूर्ण ढकाल परिवारद्वारा प्रकाशित सिक्किमका ढकालहरूको परिचयात्मक इतिहासको सङ्कलन सागरमणि ढकाल र हेमप्रसाद ढकालले गरेका छन्। राज्यको छवटै जिल्लामा ढकालहरूको उपस्थिति रहेको अनि उनीहरूको प्रतिनिधित्व गर्दै सबैले सहभागिता दिएकोमा खुसी व्यक्त गरे।
अर्कोतिर वाटिका निर्माता र कार्यक्रमका आयोजक सीपी ढकालले भने, ऋषि उपमन्युका सन्तान हुन ढकालहरू उनी ज्ञानी थिए अनि श्रीकृष्णका पनि गुरू थिए। यो कार्यक्रम पूर्खाको इतिहासलाई युवा पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य रहेको बताए। उनले यो वाटिका शोध केन्द्रको रूपमा विकास गर्ने तथा अक्षय कोष शुरु गर्ने तथा पुस्तकालय पनि निर्माण गरेर युवा पुस्तालाई आफ्नो इतिहासबारे जान्ने र अध्ययन गर्ने व्यवस्था गरिने बताए।

कार्यक्रममा अतिथिको रूपमा छिमेकी राष्ट्र नेपालबाट पण्डित दुर्गा प्रसाद ढकाल विशेष अतिथिको रूपमा उपस्थित थिए। यसैगरि अन्तराष्ट्रिय ढकाल वंशवाली संयोजक कृष्ण प्रसाद ढकाल, ढकाल बन्धु संगठनका केन्द्रिय समिति अध्यक्ष डिल्लीराम ढकाललगायत सिक्किमभरिका ढकालका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।