कालचिनीः सिक्किमको विनाशकारी बाढ़को चपेटमा ज्यान गुमाउनेमध्ये भारतीय सेना जवान विमल उराँवको पार्थीव शरीरलाई शुक्रबार तिनको कालचिनी खण्ड अन्तर्गत पर्ने मधु चियाबारीमा ल्याई पुऱ्याएको थियो भने त्यहाँबाट अन्तिम संस्कार गर्न बासरा नदीको घाटमा ल्याईएको थियो। तर त्यही बासरा नदी नजीकै रहेको गोदाम डाबरीको नयाँ घरमा सहीद विमल उराँव आफ्नी पत्नी र एकजना दिव्याङ्ग छोरासँग बस्दै आईरहेकोले घाटमा पुऱ्याउन अघि सो घरमा पनि लगिएको थियो। त्यस पश्चात तिनको पार्थिव शरीरलाई सेना जवानहरूले सैनिक सम्मानको साथ बन्दुकको सलामीसितै श्रद्धाञ्जली दिईएको थियो। यस क्रममा सहीद विमल उराँवको अन्तिम संस्कार तिनको पारिवारिक नियम मुताबिक जमीनमा तोपेर गरिएको थियो। यस क्रममा सहीद विमल उराँवको धर्मपत्नी तनुजा भगत उराँवले गत एक महीना अघि मात्र छुट्टी बिताउन लोग्ने विमल उराँव घर आएको थियो र त्यसपछि बिन्नागढी सेना छावनीमा प्रशिक्षण चल्दै थियो र यसबीच विमल उराँव सेना वाहनको चालक भएकोले सिक्किम गएको थियो तर दैवको लिला टिस्टाको कालरुपी भेलले लोग्नेको ज्यान लिएको भन्दै भक्कानो फुटाइन्।
सहीद सेना जवान नाइक विमल उराँव २० माउन्टेन डीओयूमा सेवारत थिए भने बिन्नागढी छावनीबाट तिनी सेनाको सामग्री लादिएको वाहन लिएर सिक्किम पुगेको थियो तर अचानक सिक्किमको ताल फुटेर आएको टिस्टाको भेलले सेनाको वाहनसितै २३ जना सेना जवानहरू पनि बेपता बनाएको थियो। खोजी कार्य चलिरहेको क्रममा बिहीबार सेना जवान नाइक विमल उराँवको शव गजलडोबाको टिस्टा नदीबाट उद्धार गरिएको थियो। शहीद नाइक विमल उराँवको अन्तिम संस्कार पश्चात मधु चियाबारीको समाजसेवी ईस्दोर खड़िया र प्रकास लोहारले विमल उराँव एकजना मिलनसार युवा रहेको र तिनको आमा, बाबा साथै पत्नी र एउटा दिव्याङ्ग छोरा रहेको र आज सैनिक सम्मानको साथ एवम् उनीहरुको पारिवारिक नियम मुताबिक शवलाई जमीनमा तोपेर अन्तिम संस्कार गरिएको जनाएका छन्। सिक्किमको भयावह बाढ़को चपेटमा ज्यान गुमाएका सेना नाइक विमल उराँवको पार्थीव शरीरलाई तिनको पुस्तैनी घर मधु चियाबारीमा ल्याई पुऱ्याउँदा तिनलाई श्रद्धाञ्जली दिन अपार भीड़ लागेको थियो।