पहिलो खेलमा जेएनएफसी र सिलगढी युनाईटेड बिजयी
खरसाङ: खरसाङ महकुमा खेलकूद संघद्वारा आयोजित ८०औं स्वतन्त्रता दिवस फूटबल प्रतियोगिता शनिवारदेखि खरसाङको भिक्टोरिया स्कूलको खेल मैदानमा शुरु भएको छ। प्रथम खेल जेएनएफसी अनि टुंग युनाईटेडमाझ सम्पन्न भयो भने प्रथम हाफको अन्त्यसम्म टुंग युनाईटेड २-१ ले अघि रहेका थिए भने दोस्रो हाफमा भने जेएनएफसीले खेलको अन्तिम समयमा स्कोर बराबरी गर्यो। त्यसपछि भने पेनाल्टी शुट आउटमा जेएनएफसी ४-२ विजयी हासिल गरे। यस म्याचको उत्कृष्ट खेलाडी जेएनएफसीका खेलाडी अल्केश तामाङलाई घोषित गरियो भने उनलाई संघका अध्यक्ष मोहन योञ्जन अनि प्रमुख संरक्षक एसबी सुनवारको बाहुलीबाट खादा प्रमाण पत्र अनि ट्रफी दिई सम्मान गरियो। यसरी नै दिनको दोस्रो खेलमा भने सिलगढी युनाईटेडले एकतर्फी जीत हासिल गर्दै खरसाङ रेन्जर्ष टिमलाई १ को विरुद्ध ६ गोल गरी विजय हासिल गरे। प्रतियोगिताको प्रथम ह्याट ट्रिक गर्ने सिलगढी युनाईटेडका कप्तान जर्सी नम्बर ६, सागर शाहीलाई खेलको उत्कृष्ट खेलाडी घोषित गरियो र उनलाई यसको निम्ति संघ का सदस्य अनि कोषाध्यक्ष क्रमै ले दुर्गा थापा अनि राजेन लामाको बाहुली बाट खादा प्रमाण पत्र अनि ट्रफी प्रदान गरियो। ज्ञात रहोस् यस प्रतियोगितामा जम्मा १० वटा दलहरूले भाग लिइ रहेका छन् भने यसको दुई वटा सेमी फाइनल खेल अगामी १३ तारीख अगस्ट अनि फाइनल खेल १५ अगस्टको दिन हुनेछ। यस प्रतियोगिताको विजेतालाई १९६९ सालमा बनाइएको शुद्ध चाँदीको ट्रफी सहित नगद २५ हजार रुपियाँ अनि उप विजेता दल लाई ट्रफी सहित १५ हजार प्रदान गरिने छ।









