८०औं स्वतन्त्रता दिवस पुरुष अनि महिलावर्गको म्याराथनको लागि अफिसियल टि शर्ट सार्वजनिक

IMG-20260807-WA0071

खरसाङ: ८०औं स्वतन्त्रता दिवस पुरुष अनि महिलावर्गको म्याराथनको लागि अफिसियल टि शर्ट खरसाङ महकुमा शासक आईएएस प्रिया यादवको बाहुलीबाट सार्वजनिक गरिएको छ। उनी खरसाङ महकुमा खेलकूद संघकी अध्यक्षा पनि हुन्। यस अवसरमा खरसाङ महकुमा खेलकूद संघका कार्यकारी अध्यक्ष मोहन योञ्जन, उपाध्यक्ष फुर्बा घिसिङ, प्रमुख संरक्षक एसबी सुनवार, सचिव निर्मल गुरुङ, कोषाध्यक्ष राजेन लामा अनि सदस्य अर्पण गुरुङ उपस्थित रहेका थिए। टि शर्ट अनावरणपछि संघका सचिव निर्मल गुरुङले महकुमा शासक प्रिया यादवलाई खरसाङमा प्रति वर्ष सम्पन्न हुने स्वतन्त्रता दिवस म्याराथन दौडको इतिहासबारे जानकारी दिँदै खरसाङ महकुमा खेलकूद संघले आफ्नो स्थापना भएदेखि नै उक्त दौडलाई आयोजना गर्दै आएको अनि यो म्याराथनलाई लिएर खरसाङवासी प्रतिक्षामा रहने पनि जानकारी दिएका छन्। यसको साथै सचिव गुरुङले खेलकूद संघ अनि स्वतन्त्रता दिवस आयोजक समितिले प्रति वर्ष स्वतन्त्रता दिवस नक् आउट फुटबल प्रतियोगिता आयोजन गर्ने गरेको जानकारी महकुमा शासक प्रिय यादवलाई दिए भने महकुमा शासकले यी प्रतियोगिता आयोजनबारे जानकारी मागिन्। सचिव गुरुङले स्वतन्त्रता दिवसको मुख्य कार्यक्रम पहिला चानमारी खेल मैदानमा हुने गरेको अनि त्यस बेला फुटबलको फाइनल पनि हुने गरेको तर वर्तमान समयमा यी दुवै प्रतियोगिताहरु बेग्ला बेग्लै हुँदा फुटबलमा दर्शकहरु शून्य रहने जानकारी पनि दिएका छन्। उनको यो कुरो महकुमा शासक प्रिया यादवले ध्यानपूर्वक सुनिन् भने खरसाङमा एउटा खेल मैदान हुन जरुरी रहेको पनि उनले बताइन्। यस अनावरण कार्यक्रमपछि संघका उपाध्यक्ष अनि ८०औं स्वतन्त्रता दिवस फुटबल प्रतियोगिताका संयोजक फुर्बा घिसिङले मिडिया समक्ष विस्तृत जानकारी दिएका छन्।

About Author

Advertisement