नयाँ दिल्ली: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले अमेरिकामा करिब ५० वर्षपछि नयाँ तेल प्रशोधन केन्द्र (रिफाइनरी) स्थापना हुने दाबी गरेका छन्।
उनले सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै उक्त परियोजनामा भारतको निजी क्षेत्रको कम्पनी रिलायन्स इन्डस्ट्रिज ले समेत लगानी गर्ने बताएका छन्।
ट्रम्पका अनुसार करिब ३०० अर्ब डलर लागत अनुमान गरिएको यो परियोजना पोर्ट अफ ब्राउनस्विल मा निर्माण गरिनेछ।
यो रिफाइनरी अमेरिका फर्स्ट रिफाइनिङ नामक कम्पनीले निर्माण गर्ने बताइएको छ। ट्रम्पले यसलाई अमेरिकाको इतिहासकै ठूलो लगानीमध्ये एक भएको दाबी गरेका छन्।
उनका अनुसार परियोजनाले अमेरिकी ऊर्जा उत्पादनलाई बलियो बनाउने, दक्षिण टेक्सास क्षेत्रमा हजारौँ रोजगारी सिर्जना गर्ने र अन्तर्राष्ट्रिय ऊर्जा निर्यातलाई समेत बढावा दिने अपेक्षा गरिएको छ।
पोर्ट अफ ब्राउनस्विल अमेरिका को गल्फ कोस्ट क्षेत्रको महत्वपूर्ण बन्दरगाह मानिन्छ, जहाँबाट विश्व बजारमा ऊर्जा आपूर्ति विस्तार हुने अपेक्षा गरिएको छ।










