खरसाङ: खरसाङका एकजना भूतपूर्व सैनिक सुरज तामाङ ३५ लाख २० हजार रुपियाँको वित्तीय धोकाधडीको शिकार भएका छन्। खरसाङको बरबुङ निवासी भूतपूर्व सुरज तामाङले आफुसित लाखौं रुपियाँको वित्तीय धोकाधडी भएको खरसाङमा पत्रकारहरुलाई जानकारी गराएका छन्। उनले खरसाङमा पत्रकार सम्मेलन आयोजना गरेर खरसाङको शेर्पा बस्ती निवासी दिवसकुमार छेत्रीले उनलाई विदेशमा रोजगारको झूठो प्रलोभन देखाएर विगत १५ सेप्टेम्बर २०२५ देखि हालसम्म विभिन्न समय र विभिन्न दिनाङ्कहरुमा जम्मा ३५ लाख २० हजार रुपियाँ धोकाधडी गरेर लगेको जानकारी गराएका छन्। उनले बताए अनुसार हालमा उक्त व्यक्तिले आफुलाई धोकाधडी गरिरहेको बुझेर आरोपी दिवसकुमार छेत्री विरुद्ध खरसाङ पुलिस थानामा एफआईआर दर्ता गराएका छन्। उक्त एफआईआरमा आरोपी दिवसकुमार छेत्रीमाथि वित्तिय धोकाधडी, बेइमानी, रोजगारको प्रलोभन देखाएर रुपियाँ ठगेको आरोप लगाएका छन्। सुरज तामाङले बताए अनुसार आरोपी दिवसकुमार छेत्री आफ्नो मेग ब्राउन, विदेशी कम्पनी जाहा हदीद ग्लोबल आर्किटेक्चर एण्ड कन्स्ट्रक्शन ग्रुप लिमिटेको सिनियर आर्किटेक्ट बताउँदै वित्तीय धोकाधडीको कार्य गरेको आरोप लगाएका छन्। उनले बताए अनुसार आरोपी दिवसकुमार छेत्रीले सुरज तामाङलाई लगातार रुपमा पत्रचार पनि गरेका थिए। तर त्यो कुनै विदेशबाट होइन तर आफ्नै ल्यापटपबाट ड्राफ्टिङ गरेर पत्रचार गरेका थिए। प्राप्त जानकारी अनुसार पुलिसले आरोपीलाई गत ३१ जुलाईको दिन ल्यापटपसहित पक्राउ गरिसकेको छ। तिनी हालमा पुलिस हिरासतमा रहेको र शुक्रबार ७ अगस्तको दिन अदालतमा सुनवाईको लागि पेश गरिने पनि जानकारी प्राप्त भएको छ।











