खरसाङ: सडक सुरक्षा सप्ताह २०२६ अन्तर्गत रियाङ पुलिसको आयोजनामा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा रियाङ पुलिसका प्रभारी एसआई वाङ्चुक लेप्चा तथा अन्य पुलिस अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा दुई चक्के सवारी चालकहरूलाई ट्राफिक नियमको पालना गर्न, सुरक्षित रूपमा सवारी सञ्चालन गर्न तथा हेल्मेटको अनिवार्य प्रयोग गर्न आग्रह गरिएको थियो। हेल्मेट नलगाई गाडी चलाइरहेका स्कुटी बाइकहरुका चालकहरूलाई पुलिसले हेल्मेट वितरण गर्दै आगामी दिनमा अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्न सचेत गराएको थियो। पुलिसले सडक दुर्घटना कम गर्नका लागि ट्राफिक नियमको पालना, जिम्मेवार सवारी सञ्चालन तथा सडक सुरक्षा सबैको साझा दायित्व भएको सन्देश दिएको थियो। स्थानीयवासीहरूले पनि यस्ता जनचेतनामूलक कार्यक्रमले सडक सुरक्षाप्रति सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।










