गान्तोक: ३३औं सिक्किम राज्यस्तरीय ब्याडमिन्टन च्याम्पियनशिप २०२४ समाप्त भएको छ। समापन समारोहमा गान्तोक नगर निगमकी उपमेयर छिरिङ पाल्देन भोटिया र वरिष्ठ पुलिस अधीक्षक तेन्जिङ लोडेन लेप्चा अतिथि थिए।
यस प्रतियोगितामा राज्यभरिबाट १७ वर्गमा कुल २३३ जनाले भाग लिएका थिए।
वरिष्ठ पुलिस अधीक्षक लेप्चाले आफ्नो सम्बोधनमा ड्रग्स र आत्महत्या अझै पनि सिक्किमको निम्ति ठूलो चुनौती बनेको छ भन्दै खेलकुद युवाहरूको निम्ति पुण्य मार्ग रहेको बताए। उनले यस प्रतियोगितामा युवाहरूको उल्लेखनीय सहभागिताप्रति खुशी प्रकट गरे। उनले खेलकुद आयोजनको मुख्य उद्देश्य भविष्यमा स्पोर्ट्स्टार जन्माउनु रहेको बताए।
ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बीएएस) का सल्लाहकार एवं पूर्व लोकसभा सांसद पीटी ग्याम्छोले बीएएसले आफ्नो स्थापनापछि लामो यात्रा तय गरेको बताए। उनले ब्याडमिन्टनले युवाहरूको समग्र विकास सुनिश्चित गर्छ भनी बताए।
समापन समारोहमा सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष कुबेर भण्डारी, बीएएस अध्यक्ष सी. जाङपो, उपाध्यक्ष डीएस कुंवर, महासचिव सुकान्त दास आदि पनि उपस्थित थिए।










