सिलगढी: सिलगढी पुलिस कमिश्नरेटअन्तर्गत न्यू जलपाईगुडी (एनजेपी) थानाको प्रहरी टोलीले २८० ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिलगढीको टिकियापारा निवासी ४५ वर्षीय कैलाश सहानी रहेका छन्।
विशेष सूचनाका आधारमा एनजेपी थानाको प्रहरी टोलीले बुधबार (२९ जुलाई) साँझ विश्वबाङ्लास्थित पार्किङ जोनको गेटअगाडि छापा मारेको थियो। शङ्कास्पद अवस्थामा फेला परेका सहानीलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनको कब्जाबाट २८० ग्राम ब्राउनसुगर, एउटा स्कुटर, दुई थान मोबाइल र नगद २ हजार ६० रुपियाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरी सोधपुछका क्रममा अभियुक्त सहानीले उक्त प्रतिबन्धित लागूऔषधको कुनै वैध कागजात पेस गर्न सकेनन्। उनले सिलिगुडी क्षेत्रका ग्राहकलाई अवैध रूपमा बिक्री गरी व्यक्तिगत लाभ लिने उद्देश्यले उक्त ब्राउनसुगर ल्याएको स्वीकारेका छन्।
घटनाबारे एनजेपी थानामा लागूऔषध तथा मनोप्रभावक पदार्थ ऐन (एनडिपिएस) अन्तर्गत मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको छ। घटनाको थप अनुसन्धान जारी रहेको पुलिसले जनाएको छ।









