सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) खरसाङ ब्राञ्च कमिटीले आगामी ४ अक्टोबरको दिन खरसाङ मोटर स्ट्याण्डमा धन्यवाद सभा आयोजना गर्ने भएको छ। गोरामुमो खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। विज्ञप्तिमा २२ अगस्त २०२६ का दिन गोर्खा हितसँग सम्बन्धित विषयलाई लिएर सम्पन्न भएको त्रिपक्षीय वार्ताप्रति भारत सरकार तथा भारत सरकारका गृहमन्त्री अमित शाहप्रति हार्दिक आभार एवं धन्यवाद व्यक्त गरिएको छ। गोरामुमो खरसाङ ब्राञ्च कमिटीका अनुसार गोर्खा समुदायको दीर्घकालीन हित तथा राजनीतिक विषयसँग सम्बन्धित उक्त वार्तालाई स्मरण गर्दै धन्यवाद सभा आयोजना गर्न लागिएको हो।
सभा ४ अक्टोबर २०२६ बिहान १० बजेदेखि खरसाङ मोटर स्ट्याण्डमा आयोजना हुनेछ। गोरामुमो खरसाङ ब्राञ्च कमिटीले उक्त धन्यवाद सभामा पार्टीका पदाधिकारी, समर्थक तथा गोर्खा समुदायका सदस्यहरूलाई सहभागी हुन आह्वान गरेको छ।





