गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टी आगामी ४ फरवरीको दिन रम्फूमा पालन गर्ने १२औं स्थापना दिवस समारोहका लागि युद्धस्तरको तयारी कार्यमा जुटेको छ। सिक्किम विधानसभा चुनाउ आगामी केही महिनाभित्रै हुने भएकाले एसकेएम पार्टीले चुनाउको मुखैमा भएको स्थापना दिवसलाई हर स्तरबाट भव्य र आकर्षणको केन्द्रविन्दु बनाउने प्रयास गरिरहेको।
सिक्किम विधानसभाका अध्यक्ष तथा एसकेएम पार्टीका सेक्रेटरी जनरल अरुण उप्रेतीको नेतृत्वमा स्थापना दिवसलाई सफल बनाउनका लागि एसकेएम टोली विगत केही दिनदेखि लगातार रम्फूमा खटिरहेका छन्। स्थापना दिवसको अवसरमा रम्फूमा भेला हुने मानिसहरूलाई एसकेएम सरकारका उपलब्धि र घोषित कार्यक्रमबारे अवगत गराउनका लागि ब्यानर र होडिङहरूले कार्यक्रम आयोजन स्थललाई सजाउने काम पनि गरिरहेको छ।
चुनाउ अघिको स्थापना दिवस समारोह रहेका कारण ४ फरवरीको कार्यक्रममा पार्टी अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोलेले भाषणका लागि अधिक समय राखिने र यसदिन मुख्यमन्त्रीले विशेष कार्यक्रमहरूको घोषणा गर्नसक्ने विधानसभा अध्यक्ष अरुण उप्रेतीले जानकारी दिएका छन्।
केही दिनअघि समष्टि स्तरीय जनसभा आयोजन गरिसकेका कारण रम्फूको स्थापना दिवसमा व्यापक भीड हुनसक्ने उनले अनुमान गरेका छन् भने आगामी विधानसभा चुनाउमा पार्टी विजयी निश्चित रहेको उनले बताएका छन्।










