नाला-झोड़ा आधारित विकास होइन, जनताको मानसिक र सर्वाङ्गीन विकास गर्नेछौं: एन.बी. खवास
सोनादा: हिल तृणमूल कंग्रेसको तर्फबाट यसपालीको जीटीए चुनावमा रंगबुल-धोत्रे-रंगमुक-मुण्डा समष्टिबाट उठेका प्रार्थी एनबी खवासले आइतबार आफ्नो चुनाव कार्यालय उदघाटन गरेका छन्। उनले आफ्नो चुनाव प्रचारलाई अघि बढ़ाउनलाई रंगबुलमा चुनाव कार्यालय आफ्नै बाहुलीबाट उदघाटन गरेका छन्। जीटीए चुनावको लागि रंगबुलमा आफ्नो चुनाव कार्यालय उदघाटन गरेपछि हिल तृणमूल नेता तथा रंगबुल-धोत्रे-रंगमुक मुण्डा समष्टिबाट हिल तृणमूल कंग्रेसको प्रार्थी एनबी खवासले पत्रकारहरूसित कुराकानी गर्दै भने, ‘पार्टीले यस समष्टिबाट मलाई टिकट दिएपछि आज यहाँ चुनाव कार्यालय उदघाटन गरिएको छl’ यसपालीको जीटीए चुनावमा आफ्नो विभिन्न मुद्दाहरू विषयमा बोल्दै चियाबारीहरूको समस्याहरू मुख्य रहेको र चियाबारीहरूका विभिन्न समस्याहरूलाई सरकारसित मिलेर समाधान गरिने बताए। ‘हाम्रो मुख्य चुनावी मुद्दा भनेको यस समष्टीभित्र पर्ने सातवटा ग्राम पञ्चायतहरूको खण्ड सुकेपोखरी धेरै टाड़ा भएकोले यही नै अलग्गै खण्ड विकास कार्यालय गठन गर्ने विषयमा कार्य गरिनेछ’, उनले भनेl एनबी खवासले समष्टीभित्र जनताको असुविधाहरूलाई प्राथमिकतासाथ बिस्तारै योजनाबध्द तरिकाले कार्य गर्दै लाने अनि यस क्षेत्रका विभिन्न वर्गका मानिसहरू र युवाहरूलाई लिएर अघि बढ़ने साथै विकासको कार्यहरू प्रशस्तै गरेर लाने बताएका छन्। खवासले यसपालीको चुनावमा सबैले जित्ने आशा राखेका बताउँदै उनले भने, ‘यस क्षेत्रमा १५ वर्षभित्र मैले धेरै कार्य गरेकोले ती सबै कार्यहरू हेरेर नै मलाई जनताले भोट दिनेछन्l हामी यस क्षेत्रमा सर्वाङ्गीन विकास गर्छौं, तर उत्पट्याङ विकास गर्ने होइन, नाला-झोड़ा आधारित विकास होइन, तर जनताको मानसिक र सर्वाङ्गीन विकास गर्नेछौंl मलाई यस क्षेत्रमा पार्टीले वा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले विशेष उद्देश्यको साथमा पठाएकी छन् र म यस क्षेत्रलाई कर्मभूमिको रूपमा गोद लिन चाहान्छुl’









