झापा: वैज्ञानिकहरुले हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको मात्रा घट्दै गएकाले करोडौं जनसंख्या पानीको संकटमा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। वैज्ञानिकहरुले यसो हुनुमा मुख्यरुपमा जलवायु परिवर्तनको कारणलाई लिएका छन्। नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले हालै सार्वजनिक गरेको हिउँ अध्ययन अध्यावधिक रिपोर्ट २०२४ अनुसार हिमालय क्षेत्रमा सन् २०२४ को जाडो याममा सरदरभन्दा कम हिउँ परेको र जमिनमा हिउँ रहिरहने समय अवधि पनि घटेको छ। यसबाट हिउँमा निर्भर र हिमालय क्षेत्रबाट निस्कने नदीहरुको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई संकटमा पार्न सक्ने चेतावनी दिइएको छ। त्यसैले नेपालसहित चीन, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, म्यानमार जस्ता देशहरुलाई चेतावनी दिँदै इसिमोडले भनेको छ, ‘पानीको बहावको समय र तीव्रतामा व्यापक फेरबदलको संकेत देखिएको छ। यो शोधकर्ता, नीति निर्माता र तल्लो तटीय क्षेत्रमा रहने समुदायहरुका लागि खतराको घण्टी हो।’ त्यसैले इसिमोडका वैज्ञानिकहरुले पानी अभाव, बाढी, खडेरी जस्ता प्राकृतिक प्रकोपबाट जोगिन सक्रिय कदम उठाउनुपर्ने र हरितगृह ग्याँस उत्सर्जन घटाउनुपर्नेमा जोड दिएका छन्। स्रोतका अनुसार इसिमोडमा कार्यरत पाकिस्तानी वैज्ञानिक शेर मोहम्मदले हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको तहबारे अध्ययन गर्ने टोलीको नेतृत्व गरेका थिए। उनले भने, ‘हिमालमा हिउँ कम जम्मा भएको र त्यसको स्तर तल–माथि भएकाले विशेष गरी यसै वर्ष पानीको गम्भीर संकट हुनसक्छ।’ उनका अनुसार यस वर्ष (सन् २०२४) मा हिउँको मात्रा विगत २० वर्षको औसतको तुलनामा १८.५ प्रतिशतले कमी आएको छ। सन् २०१८ मा हिउँको मात्रा सर्वाधिक कम थियो भने यसवर्ष २०१८ को तुलनामा ०.५ ले मात्रै बढी छ। त्यसो त हिमालय क्षेत्रमा हरेक वर्ष हिउँको मात्रा तलमाथि भरहन्छ। इसिमोडमा कार्यरत वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ अरुणभक्त श्रेष्ठ भन्छन , ‘कुनै वर्ष धेरै नै हिउँ परेको र कुनै वर्ष कम परेको देखिएको छ। तर हरेक वर्ष घटिरहेको छ भन्न चाहिँ अझै सकिँदैन।’ उनका अनुसार सन् २०१८ मा हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको मात्रा १९ प्रतिशत कम थियो। सन् २०१९ र २०२० का वर्षहरुमा हिउँको मात्रा सरदरभन्दा क्रमश: २८ र ३२ प्रतिशत बढी देखिएको थियो। सन् २०२२ मा १२.५ र सन् २०२३ मा ७.५ प्रतिशतले कम थियो।हिन्दुकुश क्षेत्र पूर्वमा म्यान्मारदेखि पश्चिमको अफगानिस्तानसम्म ३५ सय किलोमिटर क्षेत्रमा फैलिएको छ। एसियाका १२ प्रमुख नदी प्रणालीहरुमध्ये एक चौथाइ नदी प्रणालीको पानीको मुख्य स्रोत हिन्दुकुश हिमालय क्षेत्र हो। यसमा गङ्गा, सिन्धु, एलो, मेकाङ्ग, इरावती लगायत छन्। नदी प्रणालीमा प्रवाह हुने पानीमा हिउँको योगदान भने एकनास छैन। मध्य एसियामा बग्ने अमुदार्या नदीमा प्रवाह हुने पानीमा ७४ प्रतिशत योगदान हिन्दुकुश हिमालय क्षेत्रको हिउँको छ। यसैगरी अफगानिस्तान हुँदै बग्ने हेलमन्ड नदीमा ७७ प्रतिशत र सिन्धु नदीमा ४० प्रतिशत पानीमा हिन्दुकुश हिमालय क्षेत्रको योगदान छ। हिमालय क्षेत्रको हिउँ यस क्षेत्रका करिब २४ करोड मानिसका लागि पानीको मुख्य स्रोत हो। त्यसका अलावा तटीय क्षेत्रमा रहने थप १.६५ अर्ब मानिस पनि यही स्रोतमा निर्भर छन्। यी प्रत्यक्ष र अप्रत्यक्षरुपमा अर्बौंका लागि भोजन, ऊर्जा, स्वच्छ हावा र आम्दानीका माध्यम बनेका छन्। तर विशेष गरी पश्चिमी हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको मात्रामा तीव्र गिरावट आएको छ, जहाँ पानीको आपूर्तिमा हिउँको योगदान सबैभन्दा बढी छ।रिपोर्टअनुसार हिन्दुकुश र हिमालय क्षेत्रमा ‘स्नो पर्सिस्टेन्स’ अर्थात् जमिनमा हिउँ रहीरहने समय मापन गरिएको थियो। यल्लो रिभर अर्थात् ह्वाङ हो नदीमा भने हिउँको स्तर करिब २० प्रतिशत वृद्धि देखिए पनि अन्यमा ह्रास आएको छ।









