खरसाङ: मिरिक निवासी अनमोल सेञ्चुरी, हर्षवर्ध्दन श्रृङ्खलाको सहयोगमा सकुशल घर फर्कि आएका छन् । उनलाई म्यानमारमा अपहरण भएको र त्यहाँ उनलाई अमानवीय यातना दिइएको जानकारी पाएपछि तथा उनकी आमा नीलम सेञ्चुरीको आग्रहपछि हर्षवर्ध्दन श्रृङ्खलाले तत्काल यस विषयमा विदेश सचिव समक्ष पत्रमार्फत कुरा उठाएका थिए। यसको साथै म्यानमार र कम्बोडियास्थित भारतका राजदूतहरूसँग पनि यस विषयमा पहल गरेक थिए। उनीहरूको शीघ्र पहल र धेरै शुभचिन्तकहरूको सहयोगले अनमोललाई सकुशल स्वदेश फर्काउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। दुर्भाग्यवश, अपहरणमा परेको समयमा अनमोलले गम्भीर चोटहरू सहनुपरेको छ। उनको हात भाँचिएको छ, टाउकोमा चोट लागेको छ र शरीरका अन्य भागमा पनि घाउहरू छन्। उनको उपचारका लागि दिल्लीमा आवश्यक व्यवस्था मिलाइएको बताइएको छ।उनको सकुशल फिर्तीका लागि सहयोग गर्ने र पहल गर्ने सबैप्रति उनका परिवारले हार्दिक आभार व्यक्त गरेका छन।





