नयाँ दिल्ली: भारतीय पूर्व मन्त्री एवं नेत्री स्मृति जुबिन इरानी ‘फर्च्युन इन्डिया’ को सन् २०२६ का लागि ‘१०० सर्वोत्कृष्ट शक्तिशाली महिला’ को सूचीमा परेकी छन्। यसै उपलक्ष्यमा मुम्बईमा आयोजित एक विशेष समारोहमा सहभागी हुँदै उनले नेतृत्व, उद्यमशीलता, प्रविधि र महिलाको आर्थिक सशक्तिकरणका विषयमा आफ्नो धारणा राखेकी छन्।
नेतृत्वदायी महिलाहरूको विशेष जमघटमा बोल्दै इरानीले महिला सशक्तिकरणको सुरुवात आत्मसम्मान र आफ्नो मूल्य आफैंले चिन्नुबाट हुने बताएकी छन्। प्रत्येक महिलाले आफू जस्तो छ, त्यस्तै रूपमा सक्षम छ भन्ने कुरा महसुस गर्नुपर्नेमा उनले जोड दिइन्।
सम्झौता गर्ने सीप आत्मविश्वासको प्रतीक
कार्यक्रममा उनले महिलाहरूका लागि व्यावसायिक क्षेत्रमा सम्झौता (नेगोशिएट) गर्न सक्ने सीपको महत्त्वबारे चर्चा गरिन्। “हरेक महिलाले सम्झौताका सर्तहरू तय गर्न (नेगोशिएट अ कॉन्ट्रैक्ट) जान्नुपर्छ, यो केवल एउटा व्यावसायिक सीप मात्र होइन, बरु महिलाको आत्मविश्वास, क्षमता र आत्म-मूल्यको बलियो अभिव्यक्ति हो,” इरानीले भनिन्।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा महिला सहभागिताको खाँचो
पछिल्लो समय तीव्र रूपमा विकास भइरहेको एआईको प्रभावबारे बोल्दै उनले प्रविधिमा समावेशी नवप्रवर्तन (इनक्लूसिव इनोवेशन) हुनुपर्ने धारणा राखिन्। यदि एआईका ‘अल्गोरिदम’हरू महिलाको सहभागिता, योगदान र उनीहरूको वास्तविक अनुभव झल्कने डेटामा आधारित भएर तयार गरिएनन् भने यसले लैङ्गिक समानता ल्याउन नसक्ने उनको तर्क थियो। प्रविधिले समाजलाई निष्पक्ष रूपमा सेवा गरोस् भन्नका लागि ‘फाउन्डेसनल एआई’ ले महिलाका कथाहरू र उनीहरूको सम्भावनालाई पहिचान गर्नैपर्ने धारणा उनले व्यक्त गरेकी छन्।
फर्च्युन इन्डियाको यो प्रतिष्ठित सूचीमा पर्न सफल भएपछि उनले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै सशक्त महिला नेतृत्वको समूहसँग संवाद गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको उल्लेख गरेकी छन्।










