कालचिनी। कालचिनी खण्डको निमती झोड़ा जुनियर बेसिक स्कूलका केही शिक्षकहरु विद्यालयमा दिनहुँ ढिलो आउने साथै विद्यार्थीहरुको पठन पाठनलाई उपेक्षा गर्दै आईरहेको अभियोगमा बुधबार सो विद्यालयका अभिभावकहरुले यस सम्बन्धमा विद्यालयका इन्चार्ज शिक्षकलाई एउटा ज्ञापन बुझाएको थियो।
विद्यालयका तीनजना शिक्षक दिनहुँ ढिलो आउने गरेको अभिभावकको गुनासो रहेको छ भने उनीहरु विद्यालय बिदा अघि नै घर फर्किएर जाने गरेको अभियोग अभिभावकहरुले उठाएका छन।
शिक्षकहरु विद्यालयमा राम्ररी कक्षा नलिई मोबाइल फोनमा व्यस्त हुने गरेको अभिभावकगणको गुनासो रहेको छ।
अभिभावकहरुले विद्यालयमा नियमित पठनपाठन सुचारु गर्न माग गरेका छन।
यता अभिभावकहरुको ज्ञापन प्राप्त गर्दै ढिलो आउने शिक्षकहरुलाई सीएल दिँदै आईरहेको विद्यालयका इन्चार्ज शिक्षक प्रेमजित चीकबढ़ाइकले जनाएका छन।
निमती झोड़ा चियाबारी स्थित उक्त स्कूलको शिक्षकहरु विरुद्ध विगत दुई तीन बर्ष अघिदेखि नै यस्ता कतिपय आरोपहरु उठदै आईरहेको र अभिभावकहरुले धेरैपल्ट यस विषयमा आन्दोलन पनि गर्दै आईरहँदा पनि स्कूलको नियम नीतिमा कुनै सुधार नदेखिएको गाउँलेहरुले जनाएका छन।











