गेजिङ: वाणिज्य तथा उद्योग विभागले जिल्ला उद्योग केन्द्र (डीआईसी), सोरेङ र सिक्किम इन्स्पायर्सअन्तर्गत सिक्किम इनोभेसन हबसँगको सहकार्यमा बिहीबार ‘स्टार्ट–अप सिक्किम डिस्ट्रिक्ट कनेक्ट’ एकदिने सिकाइ तथा परामर्श सत्र आयोजना गरेको छ।
जिल्ला प्रशासन केन्द्र, सोरेङमा आयोजित कार्यक्रममा जिल्ला उद्योग केन्द्रकी महाप्रबन्धक अनुला गुरुङले कार्यक्रमको उद्देश्य तथा महत्त्वबारे जानकारी दिइन्। उनले सम्भावित तथा विद्यमान उद्यमीलाई उद्यमशीलताका लागि उपलब्ध सरकारी पहल, सुविधा तथा सहयोग प्रणालीबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्।
उनले सिक्किम स्टार्ट–अप नीतिअन्तर्गत नयाँ उद्यम स्थापना, प्रवर्द्धन, बजारीकरण तथा उद्यम विकासका विभिन्न चरणमा उपलब्ध सहयोगबारे जानकारी दिइन्। प्रारम्भिक चरणका उद्यमीका लागि स्पार्क पोर्टल, कोबो टुल तथा इन्क्युबेसन सहयोगजस्ता सुविधाबारे पनि सहभागीलाई जानकारी गराइएको थियो।
कार्यक्रमको पहिलो प्राविधिक सत्र वाणिज्य तथा उद्योग विभागअन्तर्गत स्टार्ट–अप सिक्किमका रामकुमारले सञ्चालन गरे। सत्रमा विशेषगरी साना तथा नयाँ व्यवसायमा लेखा व्यवस्थापनको महत्त्वबारे जानकारी दिइयो।
रामकुमारले नियमित र व्यवस्थित वित्तीय अभिलेख राख्दा उद्यमीलाई आफ्नो व्यवसायको वास्तविक आर्थिक अवस्था बुझ्न, सही निर्णय लिन तथा भविष्यको विस्तारका लागि योजना बनाउन सहज हुने बताए।
सहभागीलाई बिक्री दर्ता, खरिद दर्ता, नगद किताब र खर्च दर्तालगायत आधारभूत लेखा अभिलेख राख्ने विषयमा जानकारी दिइएको थियो। व्यवसाय र व्यक्तिगत आर्थिक कारोबार छुट्टाछुट्टै राख्नुपर्नेमा पनि जोड दिँदै दुवै प्रयोजनका लागि अलग–अलग बैंक खाता प्रयोग गर्न सुझाव दिइएको थियो।
कार्यक्रमले स्थानीय स्तरका नयाँ तथा विद्यमान उद्यमीलाई सरकारी सहयोग, उद्यम विकास र वित्तीय व्यवस्थापनसम्बन्धी व्यावहारिक जानकारी उपलब्ध गराउने अपेक्षा गरिएको छ।





